क्षतिग्रस्त भवनको प्राविधिक परीक्षणबिना प्रयोग नगर्न प्राधिकरणको आग्रह

क्षतिको मूल्यांकनका लागि आवश्यक प्रारूप तयार पार्न प्राधिकरणले सरोकारवाला निकायको सहभागितामा समिति गठन गरी काम शुरू गरिसकेको जनाएको छ।

काठमाडौँ– राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले जेनजी प्रदर्शनका क्रममा क्षतिग्रस्त भएका भवनहरूको प्राविधिक परीक्षण नगरी प्रयोग नगर्न अनुरोध गरेको छ।

प्राधिकरणका प्रवक्ता शान्ति महतले परीक्षणबिना रङरोगन गरेर प्रयोग गर्दा थप जोखिम निम्तिन सक्ने भएकाले प्राविधिक मूल्यांकनबाट भवन उपयुक्त रहेको प्रमाणित भएपछि मात्र प्रयोग गर्न आग्रह गरिएको जानकारी दिइन्।

प्राधिकरणले जारी गरेको सूचनामा भनिएको छ, “बढी क्षति भएका भवनहरूको संरचनात्मक अवस्था मूल्यांकन नगरी रङरोगनसमेत नगर्न र नगराउन हुन आग्रह गर्दछौँ।”

प्रहरीको प्रारम्भिक विवरणअनुसार, जेनजी प्रदर्शनमा ६०० भन्दा बढी भवन पूर्ण रूपमा जलेर नष्ट भएका छन्। एक हजार ५०० भन्दा बढी भवनमा आंशिक क्षति पुगेको छ।

क्षतिको मूल्यांकनका लागि आवश्यक प्रारूप तयार पार्न प्राधिकरणले सरोकारवाला निकायको सहभागितामा समिति गठन गरी काम शुरू गरिसकेको जनाएको छ।