वीरगन्ज नाका हुँदै २ महिनामा २६ अर्बको पेट्रोलियम पदार्थ आयात

चालु आवको दुई महिनामा ११ अर्ब ९१ करोड रुपैयाँको १ लाख ३२ हजार ८२४ किलोलिटर डिजेल आयात गरिँदा ५ अर्ब २८ करोड रुपैयाँ राजस्व संकलन भएको छ।

वीरगन्ज– वीरगन्ज नाका हुँदै चालु आर्थिक वर्ष २०८२/८३ को दुई महिनामा २६ अर्ब ३३ करोड रुपैयाँ बराबरको पेट्रोलियम पदार्थ आयात भएको छ। सो अवधिमा डिजेल, पेट्रोल, लिक्विफाइड पेट्रोलियम ग्यास (एलपीजी), एभिएसन टर्बाइन फ्युल (एटीएफ) र मट्टितेल आयात गरिएको हो।

गत आवको दुई महिनाको तुलनामा चालु आवको दुई महिनामा उक्त नाका हुँदै १ अर्ब ७६ करोड रुपैयाँ बढीको पेट्रोलियम पदार्थ आयात गरिएको वीरगन्ज भन्सार कार्यालयका प्रमुख भन्सार प्रशासक विष्णुप्रसाद ज्ञवालीले जानकारी दिए। सो अवधिमा आयात बढेसँगै १ अर्ब २९ करोड रुपैयाँभन्दा बढी राजस्वसमेत संकलन भएको छ।

“यहाँको राजस्वको मुख्य आधार पेट्रोलियम पदार्थ र सवारीसाधन  आयात हो,” प्रमुख भन्सार प्रशासक ज्ञवालीले भने। गत आवको दुई महिनाको अवधिमा पेट्रोलियम पदार्थ आयातबाट कार्यालयले ९ अर्ब ८९ करोड राजस्व संकलन गरेको थियो। त्यस्तै चालु आवको दुई महिनामा पेट्रोलियम पदार्थबाट ११ अर्ब १८ करोड रुपैयाँ संकलन गरेको छ।

चालु आवको दुई महिनामा ११ अर्ब ९१ करोड रुपैयाँको १ लाख ३२ हजार ८२४ किलोलिटर डिजेल आयात गरिँदा ५ अर्ब २८ करोड रुपैयाँ राजस्व संकलन भएको छ। गत आवको सोही अवधिमा १० अर्ब ४५ करोड रुपैयाँ मूल्यको डिजेल आयात हुँदा ४ अर्ब ५१ करोड रुपैयाँ राजस्व संकलन भएको प्रमुख भन्सार प्रशासक ज्ञवालीले बताए। 

चालु आवको दुई महिनामा ६ अर्ब ८२ करोड रुपैयाँको ८० हजार ५६० किलोलिटर पेट्रोल आयात हुँदा कार्यालयले ४ अर्ब ५४ करोड राजस्व संकलन गरेको छ। गत आवको सोही अवधिमा भने ६ अर्ब ४० करोड रुपैयाँको ६९ हजार ६४७ किलोलिटर पेट्रोल आयात हुँदा ३ अर्ब ९९ करोड रुपैयाँ राजस्व संकलन भएको थियो। 

त्यस्तै चालु आवको दुई महिनामा ५ अर्ब १२ करोड रुपैयाँको ४ करोड ९५ लाख ६६ हजार किलो एलपी ग्यास आयात हुँदा ९६ करोड रुपैयाँ राजस्व संकलन भएको छ।  गत आवको सोही अवधिमा भने ५ अर्ब ३६ करोड रुपैयाँको चार करोड ९७ लाख ५५ हजार १९४ किलो एलपी ग्यास आयात हुँदा १ अर्ब रुपैयाँ राजस्व संकलन भएको कार्यालयले जनाएको छ।