वीरगन्जमा नियन्त्रणमा आएन हैजा

वीरगन्जमा हालसम्म हैजाका २३६ जना बिरामी उपचारपश्चात् डिस्चार्ज भइसकेका छन्। चार जना आईसीयूमा र एक जना एचडीयूमा उपचाररत छन्।

वीरगन्जमा नियन्त्रणमा आएन हैजा
प्रतिकात्मक तस्वीर

वीरगन्ज– वीरगन्ज महानगर वरपर हैजाका बिरामी भेटिएको एक महिनाभन्दा धेरै भइसक्यो। तर हैजा कसरी फैलियो भनेर स्रोत पत्ता लाग्न सकेको छैन भने नियन्त्रणमा पनि आउन सकेको छैन। 

स्वास्थ्य कार्यालय पर्साका अनुसार आइतबार बेलुका ५ बजेदेखि सोमबार बेलुका ५ बजेसम्म हैजाका २८ जना नयाँ बिरामी फेला परेका छन्। जनस्वास्थ्य अधिकृत जयमोद ठाकुरले असोज ६ गतेसम्म हैजाका बिरामीको आरडीटी जाँच गर्दा २४०  जनामा संक्रमण भेटिएको जानकारी दिए। 

जसमध्ये २३६ जना हैजाका बिरामी उपचारपश्चात् डिस्चार्ज भइसकेका छन्। जसमध्ये अझै चार जना उपचाररत छन्। महानगर आसपासमा हैजा देखिएपछि यहाँका २१ वटा अस्पतालमा शुरूआती दिनदेखि असोज ६ गतेसम्म एक हजार ५१२ जना बिरामी हैजा तथा झाडापखालाका लक्षण देखा परेर अस्पताल भर्ना भएका छन्।

भर्ना भएकामध्ये एक हजार ४७९ जना उपचारपश्चात् घर फर्किसकेका छन्। हैजाका चार बिरामी आईसीयूमा उपचाररत छन् भने एक जना एचडीयूमा उपचाररत छन्। त्यसैगरी २८ बिरामीको जनरल वार्डमा उपचार भइरहेको छ। जनस्वास्थ्य अधिकृत ठाकुरले सर्वसाधारण जनता आफै सचेत र सजग नहुँदासम्म हैजा नियन्त्रण गर्न गाह्रो हुने बताए। 

मंगलबारदेखि स्वास्थ्यकर्मी तथा स्वास्थ्य स्वयंसेवीको समूह हैजा प्रभावित घरघरमा पुगेर क्लोरिनयुक्त पानी खुवाउन सिकाउने कार्यक्रम राखिएको उनको भनाइ छ।