एकीकृत समाजवादीले बनायो वेदुराम भुसालको नेतृत्वमा वाम एकता कार्यदल

एकीकृत समाजवादीका प्रवक्ता जगन्नाथ खतिवडाले वेदुराम भुसालको नेतृत्वमा चार सदस्यीय वाम एकतासम्बन्धी कार्यदल गठन गर्ने बैठकले निर्णय गरेको बताए।

काठमाडौँ– नेकपा एकीकृत समाजवादीले आफ्नो पहलमा वाम एकता गर्न कार्यदल बनाएको छ। बिहीबार बसेको केन्द्रीय सचिवालय बैठकले वाम एकतासम्बन्धी चार सदस्यीय कार्यदल बनाउने निर्णय गरेको हो।

सो पार्टीका प्रवक्ता जगन्नाथ खतिवडाले पार्टी महासचिव वेदुराम भुसालको नेतृत्वमा चार सदस्यीय वाम एकतासम्बन्धी कार्यदल गठन गर्ने बैठकले निर्णय गरेको बताए। "वाम एकताका लागि विभिन्न ढंगले पहल गर्ने र त्यसको अगुवाइ पार्टीले गर्ने भनेर निर्णय गरेका छौँ", उनले भने।

भुसालको नेतृत्वमा गठन भएको कार्यदलमा गंगाधर तुलाधर, प्रकाश ज्वाला र विजय पौडेल सदस्य छन्। उनका अनुसार कार्यदलले सबै वामपन्थीहरू संस्था तथा व्यक्तिहरूसँग छलफल र परामर्श गरी उपयुक्त सुझाव दिने छ। "कार्यदलले सबै वामपन्थी संस्था तथा व्यक्तिसँग छलफल गरी उपयुक्त के हुन सक्छ भन्ने गृहकार्य गर्ने छ", उनले भने।

उनले सरकारलाई समर्थन गर्ने विषयमा बैठकले निर्णय नगरेको बताए। पोलिटब्युरो बैठकले सरकारलाई समर्थन गर्ने कि नगर्ने भन्ने विषयमा निर्णय लिने जिम्मा सचिवालयलाई दिएको थियो।

प्रधानमन्त्री पुष्पकमल दाहाल र पार्टी अध्यक्ष माधवकुमार नेपालबीच निजी भेटघाट भएको, त्यसबारे पार्टीलाई औपचारिक जानकारी नभएको उनको भनाइ छ। बुधबार सिंहदरबारमा प्रधानमन्त्री दाहाल र अध्यक्ष नेपालबीच भेटवार्ता भएको थियो। 

"दुई नेताहरूबीचको भेट हो। पार्टी पार्टीबीचको भेट होइन। दुई अध्यक्षले भेटेको विषय औपचारिक रूपमा हाम्रो पार्टीलाई जानकारी छैन", उनले भने। सरकारलाई समर्थन गर्ने कि नगर्ने पुस २६ गतेसम्ममा पार्टीले निर्णय गर्ने उनले उल्लेख गरे।