नारायणगढ-मुग्लिन सडकमा जोखिम मोलेर यात्रा नगर्न प्रशासनको आग्रह

जिल्ला प्रशासन कार्यालय, चितवनले नारायणगढ-मुग्लिन सडकखण्डमा पहिरो खसेका कारण सडक तत्काल खुल्ने सम्भावना नरहेको भन्दै जोखिम मोलेर यात्रा नगर्न आग्रह गरेको छ।

चितवन– नारायणगढ–मुग्लिन सडकखण्डमा मंगलबार ठूलो पहिरो खसेका कारण आवागमन पूर्ण रूपमा बन्द भएको छ। इच्छाकामना गाउँपालिका–६ तुइन खोला पुलनजिकै मंगलबार साँझ पहिरो खसेपछि सडक दुईतर्फी रूपमा अवरुद्ध भएको हो।

लगत्तै जिल्ला प्रशासन कार्यालय, चितवनले एक सूचना जारी गर्दै सडक तत्काल खुल्ने सम्भावना नदेखिएकोले जोखिम मोलेर यात्रा नगर्न आग्रह गरेको छ। प्रमुख जिल्ला अधिकारी गणेश अर्यालद्वारा जारी सूचनामा भनिएको छ, “जोखिम मोलेर यात्रा नगरौँ, ज्यान बचाऔँ यात्रा पछि गरौँला, घुमेरै यात्रा गरौँ बाटो खुल्ने आशामा आफै दुःख हैरानीमा नपरौँ।”

वैकल्पिक मार्गको रूपमा महोत्तरीको बर्दिबास, मकवानपुरको हेटौँडा, रुपन्देहीको बुटवल, नवलपरासी बर्दघाट सुस्ता पूर्वको कावासोती र गैँडाकोट, धादिङको नौबिसे तथा तनहुँको हकमा खैरेनीटारबाटै उपयुक्त वैकल्पिक मार्ग लिन अनुरोध गरेको छ।

जिल्ला प्रशासनले यात्रा गर्नुअघि सडकको अवस्था यकिन गर्न र कुनै समस्या परेमा सडकमा खटिएका ट्राफिक प्रहरी, नेपाल प्रहरी र सशस्त्र प्रहरीसँग सहयोग लिन पनि आग्रह गरेको छ। सडक खुलाउन हर सम्भव प्रयास भइरहेको र आवागमन सम्भव भएपछि पुनः सूचना दिइने प्रशासनले जनाएको छ।