लगातार दुई कारोबार दिन बढेको शेयरबजार फेरि घट्यो

बुधबार नेप्से २७.८९ अंक अर्थात् १.०३ प्रतिशतले घटेर २,६५४.३५ विन्दुमा कायम भएको छ।

काठमाडाैँ– पछिल्ला दुई कारोबार दिन बढेको शेयरबजार परिसूचक नेप्से बुधबार भने घटेको छ। आज नेप्से २७.८९ अंक अर्थात् १.०३ प्रतिशतले घटेर २,६५४.३५ विन्दुमा कायम भएको छ।

आज सेन्सेटिभ इन्डेक्स ४.९७ अंक घटेको छ भने फ्लोट इन्डेक्स १.९५ अंक र सेन्सेटिभ फ्लोट इन्डेक्स १.७६ अंकले घटेको छ। नेप्सेसँगै कारोबार रकम पनि घटेको छ।

मंगलबार ५ अर्बभन्दा बढीको शेयर खरिदबिक्री भएको बजारमा आज ३१७ कम्पनीको ९४ लाख ८ हजार कित्ता शेयर खरिदबिक्री हुँदा ४ अर्ब १२ करोड ४८ लाख २१ हजार रुपैयाँ बराबरको कारोबार भएको छ।

आज माथिल्लो मैलुङ्ग खोल जलविद्युत, सिटि होटल र हिम स्टार उर्जा कम्पनीको शेयर सकारात्मक सर्किट लेभलमा कारोबार भएको छ। त्यस्तै, सिटिजन्स म्युचुअल फन्डको इकाईमूल्य र भिजन लुम्बिनी उर्जा कम्पनीको शेयरमूल्य करिब ८ प्रतिशत बढेको छ। कारोबारमा आएको उन्नती सहकार्य लघुवित्त वित्तीय संस्थाको शेयरमूल्य सर्वाधिक ५.३८ प्रतिशतले घटेको छ।

१३ उपसमूहमध्ये होटल तथा पर्यटन र म्युचुअल फन्ड उपसमूहको परिसूचक सामान्य बढ्दा बाँकी ११ उपसमूहको परिसूचक घटेको छ।