तुइन खोलाको पहिरोले पोखरा–काठमाडौँ यातायातसमेत प्रभावित

मुग्लिन–नारायणगढ खण्डको तुइन खोला क्षेत्रमा गएको पहिरोको प्रभाव पोखरा–काठमाडौँ सडकखण्डमा पनि परेको छ।

काठमाडाैँ– मुग्लिन–नारायणगढ खण्डको तुइन खोला क्षेत्रमा गएको पहिरोको प्रभाव पोखरा–काठमाडौँ सडकखण्डमा पनि परेको छ।

उक्त पहिरोका कारण मुग्लिनखण्डमा सवारीसाधनको अत्याधिक चाप बढ्न थालेसँगै त्यसको प्रभाव पोखरा–काठमाडौँ चल्ने सवारीसाधनमा समेत परेको पृथ्वीराजमार्ग बस सञ्चालक कम्पनी लिमिटेडका अध्यक्ष ऐनकुमार साईले बताए।

उक्त पहिरोका कारण सडकमा सवारीसाधनको जाम हुन थालेपछि यात्रुहरूलाई समयमा नै गन्तव्यमा पुर्‍याउन नसकिएको उनको भनाइ छ।
    
“मुग्लिन–नारायणगढ खण्डमा सडक यातायात प्रभावित भएसँगै नेपालका पश्चिमी क्षेत्रमा जाने सवारीसाधन पोखरा हुँदै जान थालेका कारण पनि सवारीसाधनको चाप अत्याधिक छ,” अध्यक्ष साईले भने। लगातार पहिरो जान थालेपछि मुग्लिन–नारायणगढ सडकखण्ड बन्द गरी पहिरो पन्छाउने काम भइरहेको छ।

पोखरा–काठमाडौँ खण्डमा पृथ्वीराजमार्ग बस सञ्चालक कम्पनीअन्तर्गत नियमित ४०० को संख्याका यात्रुवाहक सवारीसाधनले सेवा दिइरहेका छन्। दशैँको टीकाको दिन नजिकिँदै गर्दा ठूलो संख्यामा सर्वसाधारण आवतजावत गर्ने भए पनि सडक अवरुद्ध हुँदा कठिनाइ भएको साईले बताए।