काठमाडौँले फोहोर फाल्ने ककनीका किसान बदलामा स्ट्रबेरी खुवाउँछन्

काठमाडौँ महानगरले दैनिक उठाउने करिब ६०० मेट्रिक टन फोहोर ककनी-२ सिसडोल पठाउँछ। तर, यता महानगरले फुटपाथमा व्यापार रोकेपछि ककनीका किसानले स्ट्रबेरी बेच्न समस्या भोग्नु परेको छ।

कान्छामान तामाङ। तस्वीर: किसन/उकालो

ककनी (नुवाकोट)- गत स्थानीय तहको निर्वाचनमा काठमाडौँ महानगर प्रमुखको उम्मेदवार बनेका बालेन्द्र शाहले काठमाडौँबाट उठ्ने करिब ६०० मेट्रिक टन फोहोरमध्ये ७५ प्रतिशत कुहिने फोहोरलाई प्रसोधन गरी मल बनाउने बताएका थिए। उक्त मल छिमेकी जिल्लाका किसानलाई बेच्ने र किसानको उत्पादन खरिद गर्ने पनि बताएका थिए।

उनको योजनाबाट नुवाकोटको ककनी गाउँपालिकाका स्थानीयवासी र किसान खुशी भएका थिए। कारण, काठमाडौँको फोहोर फाल्ने सिसडोल त्यही गाउँपालिकामा पर्छ। फोहोर पनि रोकिने र मल पनि पाइने भएपछि किसान खुशी हुने भइगए।

ककनी गाउँपालिका स्ट्रबेरी खेतीबाट पनि परिचित छ। त्यहाँ उत्पादन हुने स्ट्रबेरीको प्रमुख बजार काठमाडौँ नै हो। करिब २५ वर्षअघि शुरू भएको खेतीले यहाँका किसानको जीवनस्तरमा परिवर्तन ल्याएको छ। तीमध्ये एक हुन् ककनी-२ का ६० वर्षीय कान्छामान तामाङ।

तामाङले २०५२ सालतिर स्ट्रबेरी खेती शुरूआत गरेका थिए। उनी  २०४९ सालतिर स्ट्रबेरी खेतीसम्बन्धी अनुसन्धान गरिरहेको ‘जाइटी नेपाल’ नामक संस्थामा कार्यरत थिए। “त्यसबेला मेरो रक्सी पिउने लत नै थियो”, तामाङ भन्छन्, “त्यसबखत त्यही संस्थामा कार्यरत सुकुमाया श्रेष्ठ दिदीले मलाई कृषिमा लाग्न र आफूलाई व्यस्त राख्न सुझाव दिनुभयो।” उनले साथीभाइ पनि लगेर सुकुमायासँग १०/१० वटा स्ट्रबेरीका बिरुवा ल्याए। 

स्ट्रबेरी फल्ने नफल्ने कुनै निश्चित थिएन। माउ बिरुवाबाट उनीहरूले बेर्ना निकाले। कान्छामानका दाजुले त्यसबेला करिब ४०० बेर्ना रोपेका थिए। रोपेको केही महिनामै फल दियो। उनले करिब २६ हजार आम्दानी गरे। अनि, त्यहाँका किसान यो खेतीतर्फ आकर्षित भए। अहिले धेरै परिवारले स्ट्रबेरी खेती गरेका छन्।

२०५३/५४ सालतिर अहिलेको जस्तो बजार थिएन। स्ट्रबेरी उपभोक्ताका लागि नौलो फल हुँदा त्यतिबेला बेच्न सकस हुने गरेको कान्छामान बताउँछन्। स्ट्रबेरी बेच्न उनी काठमाडौँको वसन्तपुरस्थित जुद्ध बारुणयन्त्रको कार्यालयबाहिरको प्राङ्गण, विशालबजारको गेट आसपास बसेर बेच्थे। “कति ग्राहकले त चाख्न पनि संकोच मान्थे। कतिले पालिस लगाएर ल्याएको पनि भन्थे। धेरैलाई पहिला आफैँ चाखेर देखाउनुपर्थ्यो", उनी भन्छन्।

मान्छेहरू आकर्षित हुँदै जाँदा उनले दैनिक करिब २०० केजीसम्म बेचे। त्यसपछि अरूले पनि यो फल बेच्ने इच्छा राख्न थाले। "अरूले नै लगेर बेचिदिन थालेपछि म चाहिँ पूर्णरूपमा कृषिमा लागेँ", उनी भन्छन्।

अहिले पनि ककनीका केही किसान आफैँ सिधै बजारमा लगेर फल बेच्ने गरेको उनी बताउँछन। तर, काठमाडौँ लगेर बेच्दा महानगरले फुटपाथबाट लखेट्ने गरेर दु:ख दिन थालेको उनी बताउँछन्। 

अहिले ककनीमा दोस्रो पुस्तासमेत स्ट्रबेरी खेतीमा लागेको छ। स्थानीय छेसाङ तामाङले करिब पाँच रोपनी जाग्गामा स्ट्रबेरी लगाएका छन्। आफ्ना बाबुआमाको जस्तो परम्परागत शैली परिवर्तन गरेर उनले खेती गरेका छन्। सिँचाइ, नेट लगाउने , बिरुवा उत्पादनलगायत काम पृथक तरिकाले गर्छन्। व्यवस्थित शैलीमा कृषि गर्दा फसल राम्रो हुने उनको भनाइ छ।

इच्छुक पाहुनालाई कृषि फार्ममै आएर उनले फल टिप्ने सुविधा दिएका छन्। काठमाडौँबाट सप्ताहान्त मनाउन पाहुनाहरू परिवारसहित उनको फार्म पुग्छन्। उनी काठमाडौँ मात्र नभई देशका अन्य शहर र विदेशमा समेत स्ट्रबेरी पठाउँछन्। "एकै स्थानमा प्रतिस्पर्धा गर्नुभन्दा बजार बिस्तार गर्दा मूल्य र बजार थप सुनिश्चित हुन्छ", उनी भन्छन्।

स्ट्रबेरी जापानिज फल हो। फसलका हिसाबले छ महिने खेती भएता पनि वर्षभरि नै खेतबारीमा मिहिनेत गर्नुपर्ने कान्छामानकी श्रीमती संगीता बताउँछिन्। संगीताका अनुसार जेठ, असारताका माउ बिरुवाबाट बेर्ना निकाल्नुपर्छ। “साउन र भदौमा रोपिने बेर्नाले भदौ अन्तिमदेखि असोजसम्ममा फल दिन्छ”, उनले भनिन्। 

तापक्रम बढेसँगै फल अमिलो हुँदै जाने र चाँडो गल्ने हुँदा धेरै दिन भण्डारण गर्न नसकिने संगीता बताउँछिन्। उनका अनुसार अधिकतम् पाँच दिन भण्डारण गर्न सकिन्छ। 

नजिकै काठमाडौँजस्तो ठूलो शहर भएको र सडक सुविधा पनि भएको हुँदा स्ट्रबेरी बेच्न समस्या नभएको कान्छामान बताउँछन्। औसत प्रतिकिलो ३०० रुपैयाँसम्ममा बेच्ने गरेको उनको भनाइ छ।

तर, काठमाडौँको फुटपाथमा बिक्री गर्न रोकेका कारण बजार प्रभावित हुने जोखिम बढेको उनको भनाइ छ। "हामीले धेरै सहेर काठमाडौँलाई फोहोर फाल्न दिएका छौँ। फुटपाथ खाली गराउनु राम्रो हो, तर गरीखानेका लागि अर्को ठाउँ व्यवस्था गर्नुपर्छ", उनी भन्छन्।

ककनी गाउँपालिकाले स्ट्रबेरी कृषकलाई ५० प्रतिशत अनुदानमा 'मल्चिङ प्लास्टिक' वितरण गरेको थियो। गाउँपालिका अध्यक्ष सुमन तामाङ वडा नम्बर २, ३ र ५ मा स्ट्रबेरी खेतीको सम्भावाना देखिएको बताउँछन्। काठमाडौँ महानगरले वडा नं. २ मा नै फोहोर व्यवथापन गर्छ। 

कतिपय किसानको प्रमुख बजार नै काठमाडौँ भएकाले महानगरले फुटपाथ खाली गर्दा व्यवसायमा मर्का पर्ने देखिएको कारण पालिकास्तरमा संवादको प्रयास भैरहेको अध्यक्ष तामाङले बताए। उनले भने, “कुनै विरोध अवरोध नभई हामीले व्यवस्थापनका सम्भावनाबारे छलफल गर्न समय माग गरेका छौँ। शीघ्र यसबारे हाम्रो धारणा राख्नेछौँ।”

वडा नम्बर २ का वडा सदस्य च्यामे तामाङ कुल उत्पादनको करिब २५ प्रतिशत स्थानीय बजारबाटै बिक्री हुने बताउँछन्। ठूलो हिस्सा भने काठमाडौँ जान्छ। वडा सदस्य तामाङ काठमाडौँ महानगरबाट भएको गतिविधिमा कुनै विरोध नभई समन्वयात्मक संवाद गर्ने पालिकास्तरबाटै तयारी भैरहेको बताउँछन्।