धादिङमा पृथ्वी राजमार्ग अवरुद्ध

दशैँ शुरू भएसँगै घर फर्किने यात्रुको चाप बढिरहेको अवस्थामा राजमार्ग बन्द हुँदा सयौँ सवारी साधन बाटोमा रोकिएका छन्।

धादिङमा पृथ्वी राजमार्ग अवरुद्ध
फाइल तस्वीर

मलेखु– धादिङको बेनिघाट रोराङ गाउँपालिका–१० स्थित ज्वाङखोला र तिङराङखानीमा पहिरोका कारण पृथ्वी राजमार्ग अवरुद्ध भएको छ। 

सडकमा ठूलो परिमाणमा माटो र ढुंगा खस्दा सवारी आवागमन दुवैतर्फ रोकिएको हो। बिहीबार बिहान करिब १० बजेबाट पहिरो झर्न शुरू भएको जिल्ला ट्राफिक प्रहरी कार्यालय गजुरी धादिङका प्रहरी निरीक्षक सुरज श्रेष्ठले जानकारी दिए। 

उनका अनुसार सडकमा यातायात सञ्चालनका लागि पहिरो हटाउने काम भइरहेको छ। दशैँ शुरू भएसँगै घर फर्किने यात्रुको चाप बढिरहेको अवस्थामा राजमार्ग बन्द हुँदा सयौँ सवारी साधन बाटोमा रोकिएका छन्।

रोकिएका सवारी साधनलाई सम्भावित जोखिम कम हुने सुरक्षित स्थानमा सार्न सुरक्षाकर्मी परिचालन गरिएको जिल्ला प्रहरी कार्यालय धादिङका एसपी भेषराज रिजालले जानकारी दिए। 

अवरुद्ध स्थान नजिकै मात्र नभई अन्य ठाउँमा पनि पहिरोको उच्च जोखिम रहेको भन्दै यात्रुलाई सतर्क रहन र आवश्यक परे वैकल्पिक मार्ग प्रयोग गर्न आग्रह गरिएको छ।