नेप्से परिसूचसँगै घट्यो कारोबार रकम

बिहीबार नेप्से परिसूचक २.३५ अंकले घटेर २६५२ को बिन्दुमा सीमित भएको छ।

काठमाडौँ– साताको अन्तिम कारोबार दिन बिहीबार शैयर बजारमा दशैँको प्रभाव देखिएको छ। नेप्से परिसूचकसँगै कारोबार रकममा पनि गिरावट आएको छ।

बिहीबार नेप्से परिसूचक २.३५ अंकले घटेर २६५२ अंकमा झरेको छ। यससँगै कारोबार रकम खुम्चिएर तीन अर्ब २६ करोड रुपैयाँमा सीमित भएको छ, जुन अघिल्लो दिनको तुलनामा कम हो।

यस दिन ३२७ कम्पनीको ७९ लाख ५३ हजार कित्ता शेयर ३७ हजार ५६२ पटक खरिद-बिक्री भएको छ। बुधबारको तुलनामा कारोबार रकम करिब ८६ करोड रुपैयाँले घटेको छ।

कारोबारमा आएका कम्पनीमध्ये १३९ वटाको शेयर मूल्य घट्दा १०७ वटाको भने बढेको छ। यस दिन सेन्सेटिभ इन्डेक्स ०.१० अंकले घटेको छ।

उपसमूहहरूमध्ये बैंकिङ, लगानी र म्युचुअल फन्डको उपसूचक सामान्य बढे पनि होटल तथा पर्यटन उपसमूहको उपसूचक सर्वाधिक १.४९ प्रतिशतले घटेको छ।

हिमस्टार ऊर्जा कम्पनीको सेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ। सिटी होटल लिमिटेडको शेयर मूल्य सबैभन्दा धेरै ७.५५ प्रतिशतले घटेको छ।

कारोबार रकमका आधारमा नेपाल पुनर्बिमा कम्पनी शीर्ष स्थानमा रहेको छ, जसको ३० करोड ९० लाख रुपैयाँ बराबरको शेयर कारोबार भएको छ।