आत्मनिर्भर अर्थतन्त्र बनाउन सरकार र निजी क्षेत्रको सहकार्य आवश्यक : राष्ट्रपति

राष्ट्रपति भण्डारीले नेपाली श्रम, सिप र कच्चा पदार्थबाट उत्पादित सामग्रीको निकासी प्रवर्द्धन गर्न सके मात्र चुलिँदो व्यापार घाटालाई सन्तुलनमा ल्याउन सकिने बताइन्।

तस्वीर : रासस

काठमाडौँ– राष्ट्रपति विद्यादेवी भण्डारीले मुलुकभित्र उपलब्ध स्रोतसाधनको दिगो उपयोग गर्दै स्वाधीन र आत्मनिर्भर राष्ट्रिय अर्थतन्त्र निर्माण गर्न स्वदेशी उत्पादनमा वृद्धि गर्न आवश्यक भइसकेको बताएकी छन्।

बिहीबार काठमाडौँको भृकुटीमण्डपमा शुरू भएको १६औँ अन्तर्राष्ट्रिय फुटवेयर औद्योगिक प्रदर्शनी उद्घाटन कार्यक्रमलाई सम्बोधन गर्दै राष्ट्रपति भण्डारीले नेपाली श्रम, सिप र कच्चा पदार्थबाट उत्पादित सामग्रीको निकासी प्रवर्द्धन गर्न सके मात्र चुलिँदो व्यापार घाटालाई सन्तुलनमा ल्याउन सकिने बताइन्।

उनले स्वदेशी उत्पादनलाई सहज र सुलभ बनाउन सरकारले ध्यान दिनुपर्ने औँल्याइन्। "स्वदेशी उत्पादनलाई सहज र सुलभ बनाउनका लागि नेपाल सरकारले ध्यान पुर्‍याउनुपर्छ। यसका लागि कृषि उत्पादन बढाउने, वन पैदावार र जडीबुटीमा आधारित आयात प्रतिस्थापन गर्ने, तथा पर्यटन प्रवर्द्धन जलविद्युत्को स्वदेशी खपतमा जोड दिने नीतिहरू नेपाल सरकारले अवलम्बन गर्नु अति आवश्यक छ", उनले भनिन्।

राष्ट्रपति भण्डारीले सरकारले नेपालको अर्थ व्यवस्था विकास गर्न योगदान गर्ने तुलनात्मक लाभका क्षेत्रहरू पहिचान गरिसकेको उल्लेख गर्दै ती क्षेत्रमा लगानी बढाउन सहजीकरण गर्ने, उद्योगमैत्री नीति अवलम्बन गर्ने, स्वदेशी उद्योगको संरक्षण गरी प्रतिस्पर्धी क्षमता बढाउन सहयोग गर्ने सबैको दायित्व भएको बताइन्। उनले निजी क्षेत्र र सरकारले आपसमा उच्चस्तरको समझदारी विकास गरी मुलुकको अर्थ व्यवस्थालाई बलियो बनाउनका लागि सहकार्य गर्नुपर्ने आवश्यकता औँल्याइन्।

राष्ट्रपति भण्डारीले मुलुकको अर्थ व्यवस्था बलियो बनाए केही वर्षभित्रै नेपालको व्यापार घाटालाई कम गर्दै लैजाने आधार निर्माण हुनुका साथै रोजगारी र उद्यमशीलताको नयाँ अवसर सिर्जना गरी पुँजी र प्रतिभाको पलायनसमेत रोक्न सकिने उल्लेख गरिन्। "अर्थ व्यवस्थाको सबलीकरणका लागि राष्ट्रका उद्यमी र किसानको मनोबल सधैँ उच्च राख्न अति आवश्यक हुन्छ। हामीले आफ्नो इतिहासमाथि न्याय गर्नसमेत आफ्नो क्षमताको पहिचान र प्रयोग गर्नु आवश्यक छ", राष्ट्रपति भण्डारीले भनिन्।

राष्ट्रपति भण्डारीले घरेलु उत्पादनको रूपमा रहेका नेपाली फुटवेयर उत्पादनले स्वदेशी जुत्ता चप्पल बजारमा ठूलो स्थान ओगट्न सफल भएको र यसले आधा लाख बढी मानिसलाई रोजगारी प्रदान गरेकोप्रति खुसी प्रकट गरिन्। उनले नेपाली उत्पादनलाई गुणस्तरसहित ब्रान्डिङ गर्न सकेको खण्डमा नेपाली फुटवेयर उत्पादनका लागि बजार उपलब्ध हुनसक्ने बताइन्। उनले बजार बिस्तारमा प्राप्त हुने अवसरको खोजी गर्दै अवसरको सदुपयोग गर्न उद्यमीलाई आग्रह गरिन्।