अभिषेकको नाममा चार बिघा पुर्ख्यौली जमिन रहेकाले सम्पत्ति हत्याउने उद्देश्यले अन्य व्यक्तिको पनि संलग्नता हुनसक्ने आशंकामा प्रहरीले अनुसन्धान गरिरहेको छ।
सिरहा– गोलबजार नगरपालिका–१३, डंगराहामा भएको १६ वर्षीय अभिषेक सिंहको हत्या प्रकरणमा नयाँ तथ्यहरू सार्वजनिक भएका छन्। प्रहरीका अनुसार, फिरौतीको नाटक गरी योजनाबद्ध ढंगले उनको हत्या गरिएको अनुसन्धानका क्रममा खुलेको हो।
गत असोज ५ गतेदेखि बेपत्ता भएका अभिषेकको शव असोज ७ गते बिहान उनको घर नजिकैको आँपको बगैँचामा भेटिएको थियो। अनुसन्धानका क्रममा प्रहरीले तालिम प्राप्त कुकुरको सहायता लियो। कुकुर मृतकका हजुरबुवा विन्देश्वर सिंहको घरको आँगनसम्म पुगेर रोकिएपछि प्रहरीको शंका अभिषेकका १७ वर्षीय काकातर्फ मोडियो।
प्रारम्भिक अनुसन्धानबाट प्रहरीले अभिषेकले ट्याक्टर चलाउन नदिएको रिसमा काकाले उनको योजनाबद्ध हत्या गरेको निष्कर्ष निकालेको छ। अभिषेकका काकाले प्रहरीलाई दिएको बयानअनुसार, उनले ‘खेल्न जाउँ’ भनी अभिषेकलाई घरबाट लगेका थिए। यसअघि नै उनले खेतमा खाल्डो खनी ड्रम तयार पारेका थिए। त्यसपछि अभिषेकको घाँटी गमछाले कसेर हत्या गरी शवलाई ड्रममा राखेर खाल्डोमा पुरेका थिए।
हत्यापछि पनि ती काकाले आफन्तहरूसँग खोजी अभियानमा संलग्न भएको जस्तो गरेको प्रहरीको भनाइ छ। असोज ६ गते बिहान उनले अभिषेककी आमा रेखादेवी सिंहको मोबाइलमा 'इमो'मार्फत हिन्दी भाषामा फिरौतीको धम्कीपूर्ण सन्देश पठाएका थिए, जसमा '५ करोड रुपैयाँ नदिए मारिदिने र प्रहरीलाई खबर गरे लास फाल्ने' उल्लेख थियो। यसबाट घटनालाई सीमापारबाट आएको जस्तो देखाउने प्रयास गरिएको प्रहरीको भनाइ छ।
घटनाको रातमा भारी वर्षा भएपछि ड्रम बाहिर देखिन थालेको थियो। त्यसपछि उनले पुनः घटनास्थलमा गई शवलाई निकालेर आँपको बगैँचामा फालेको र ड्रमलाई नजिकैको पोखरीमा डुबाएको बयान दिएका छन्।
प्रहरीले घटनामा प्रयोग भएको गम्छा विद्यालयको प्रांगणबाट, मृतकको मोबाइल र सिम पोखरी किनारबाट र ड्रम पोखरीभित्रबाट बरामद गरेको छ। फिरौतीको सन्देश पठाउन प्रयोग गरिएको मोबाइल पनि उनकै रहेको प्रहरीको भनाइ छ।
अभिषेक आफ्ना बुबाको १० वर्षअघि मृत्यु भएपछि परिवारका एक्ला छोरा थिए। उनको नाममा चार बिघा पुर्ख्यौली जमिन रहेको हुँदा प्रहरीले सम्पत्ति हत्याउने नियतले अन्य व्यक्तिको संलग्नता हुनसक्ने आशंकामा पनि अनुसन्धान गरिरहेको छ।
जिल्ला प्रहरी प्रमुख तथा प्रहरी उपरीक्षक अनन्तराम शर्माले मृतकका काका पर्ने ती किशोरले आफू एक्लैले घटना गराएको बयान दिए पनि ड्रममा शव लुकाउने र पुनः निकाल्ने प्रक्रिया हेर्दा अरूको पनि संलग्नता हुनसक्ने बताए।
घटनाको संवेदनशीलताका कारण प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)को टोली पनि अनुसन्धानमा खटिएको छ। ती किशोरलाई मोहरा बनाएर अरू कसैले योजनाबद्ध ढंगले हत्या गराएको हुनसक्ने कोणबाट पनि अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।
प्रहरी उपरीक्षक शर्माले भने, “दोषी पत्ता लागिसकेको छ, धेरै प्रमाण जुटिसकेका छन्। थप निष्कर्षमा पुगेपछि सार्वजनिक गर्नेछौँ।”
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
