‘माटोले घर पोत्ने चलन हरायो, आम्दानी गुम्यो’

दशैँभन्दा एक साताअगाडि नै घरका भित्ता, झ्याल र ढोका रंगाउने प्रचलन अझै छ, तर पहिलेजस्तो स्थानीयस्तरमा पाइने माटोले पोत्ने चलन भने हराउँदै भएको छ।

ढोरपाटन– निसीखोला गाउँपालिका–४ की ६७ वर्षीया जेठी विकले रातोमाटो बिक्री गरेर दशैँ खर्च जोहो गर्न थालेको करिब २० वर्ष भयो। ग्रामीण क्षेत्रका घरमा रातोमाटो र सेतो कमेरोमाटोले पोत्ने हुँदा विकले घरघरमै माटो पुर्‍याउँदै आएका छन्।  

पछिल्लो पाँच वर्षयता भने आयातित रङले घर पोत्ने चलन बढेपछि विकलाई दशैँ खर्च जोहो गर्न समस्या भएको छ। दशैँभन्दा एक साताअगाडि नै घरका भित्ता, झ्याल र ढोका रंगाउने प्रचलन अझै छ, तर पहिलेजस्तो स्थानीयस्तरमा पाइने माटोले पोत्ने चलन भने हराउँदै भएको हो। पहिले एकैदिनमा ७०० रुपैयाँसम्म पनि हुने गरेको भए पनि अहिले पाँच दिनमा पनि ७०० रुपैयाँ नहुने उनले बताए। 

“एक दशक अघिसम्म दशैँका बेला करिब १०० घरमा माटो पुर्‍याउने गरेको थिए, हाल १५ घरमा पनि माटोको माग हुँदैन। हिजोआज घरमा सिमेन्ट लगाएपछि माटो र कमेरो प्रयोगमा आउन छोडेको छ,” विकले भने, “जमाना फेरिए, गाउँका घरमा पनि धेरैले सिमेन्ट लगाउन थाले। पहिले कमेरो लगाउने भित्तामा हाल इनामेल र अरु रङ लगाउन थालिएको छ।” 

स्थानीय कलीकुमारी सुनारले पहिले रातोमाटो र कमेरोमाटो निकाल्ने ठाउँ हाल झाडीले ढाकिएको सुनाइन्। गाउँमा खर र ढुंगेघर विस्थापित हुँदै गएपछि स्थानीयले माटोले पोत्न छोडेको उनको भनाइ छ। 

“माटो बेचेर दशैँका बेला १० देखि २० हजार रुपैयाँ कमाउने गरेकी थिएँ,” सुनारले भनिन्,“पहिलेजस्तो बारीबाट रातोमाटो ल्याउने अवस्था रहेन। अहिले गाउँमा मोटर गाडी आए, धेरैले पक्की घर बनाउन थाले। गाउँमा परम्परागत पहिचान हरायो, हाम्रो आम्दानी गुम्यो।”

विगतमा रातोमाटो र सेतो कमेरोमाटोले घर पोतिनु गाउँको मौलिकता नै थियो। आधुनिकताले परम्परागत घर विस्थापित हुँदै गएपछि माटोले घर पोत्न चलन हराउँदै गएको छ।