सर्लाहीमा सवारी दुर्घटनामा २ जनाको मृत्यु, १ गम्भीर

हुलाकी सडक हुँदै पर्साबाट भेल्ही आउँदै गरेको भारतीय नम्बर भएको स्कर्पियोले मोटरसाइकललाई ठक्कर दिएको थियो। उक्त मोटरसाइकलमा तीन जना सवार थिए।

बरहथवा– सर्लाहीमा स्कर्पियोको ठक्करबाट मोटरसाइकलमा सवार दुई जनाको मृत्यु भएको छ। एक जना गम्भीर घाइते भएका छन्। 

दक्षिणी सीमावर्ती क्षेत्र ब्रह्मपुरी गाउँपालिका–५, स्थित हुलाकी सडकखण्डमा शुक्रबार राति दुर्घटना भएको हो। 

दुर्घटनामा ब्रह्मपुरी गाउँपालिका–२ का २३ वर्षीय अंकित चौधरी र २५ वर्षीय रोहित सहनीको मृत्यु भएको हो। प्रहरीले जनाएको छ। २३ वर्षीय शिवशंकर पण्डित गम्भीर घाइते भएका छन्। 

पण्डितको एलएस न्युरो अस्पताल बारामा उपचार भइरहेको जिल्ला प्रहरी कार्यालय सर्लाहीका प्रहरी नायब उपरीक्षक सरोज राईले जानकारी दिए। हुलाकी सडक हुँदै पर्साबाट भेल्ही आउँदै गरेको भारतीय नम्बर भएको स्कर्पियोले विपरीत दिशाबाट जाँदै गरेको तीन जना सवार मोटरसाइकललाई ठक्कर दिएको थियो। 

प्रहरीले दुर्घटनामा संलग्न स्कर्पियो र मोटरसाइकल नियन्त्रणमा लिएको छ। घटनापछि फरार स्कर्पियो चालकको खोजी भइरहेको प्रहरी नायब उपरीक्षक राईले बताए।