इरानमाथि प्रतिबन्ध लगाउने राष्ट्रसंघको तयारी

प्रतिबन्धले इरानको आणविक तथा मिसाइल विकासमा संलग्न व्यक्ति, संस्था र कम्पनीहरूसँग विश्वव्यापी व्यापारमा रोक लगाउनेछ।

आणविक सम्झौतामा पारदर्शिता नदेखिएको भन्दै संयुक्त राष्ट्रसंघले इरानमाथि पुनः प्रतिबन्ध लगाउने तयारी गरेको छ। अन्तिम समयमा कुनै विशेष सहमति नभए शनिबार राति ८ बजेदेखि प्रतिबन्ध लाग्ने जनाइएको छ। 

इरानले आणविक सम्झौतामा पारदर्शिता नदेखाएको र आफ्नो आणविक कार्यक्रमबारे स्पष्ट जानकारी नदिएको भन्दै युरोपेली मुलुकहरूले  स्वतः लागु हुने प्रतिबन्ध प्रक्रिया शुरू गरिसकेको एएफपीले जनाएको छ।

यस प्रतिबन्धले इरानको आणविक तथा मिसाइल विकासमा संलग्न व्यक्ति, संस्था र कम्पनीहरूसँग विश्वव्यापी व्यापारमा रोक लगाउनेछ।

हालै इरानले अन्तर्राष्ट्रिय निरीक्षकहरूलाई आफ्नो आणविक स्थलमा पुनः प्रवेश गर्न अनुमति दिएको भए पनि पश्चिमी राष्ट्रले त्यसलाई पर्याप्त मान्न सकेका छैनन्।

पश्चिमी राष्ट्रहरूको उद्देश्य साँच्चिकै आणविक चिन्ता समाधान गर्ने भए त्यसका लागि संवादको ढोका खुला रहेको इरानी राष्ट्रपति मसुद पेजश्कियानले बताए। तर केही मुलुकले इरानको शासन परिवर्तन गर्ने रणनीति अपनाइरहेको उनको आरोप छ। (रासस/एएफपी)