अहिले विश्वमा जेनजी विद्रोहबारे ‘गुगल सर्च’ गर्दा नेपालको यही घटनाका समाचार शुरूमै भेटिन्छन्। तर, जेनजी विद्रोह भएको नेपाल एक्लो देश भने होइन।
काठमाडौँ– भदौ २३ गते काठमाडौँमा शुरू भएको जेनजी आन्दोलनले ३६ घण्टा नबित्दै सरकार ढालिदियो। अहिले विश्वमा जेनजी विद्रोहबारे ‘गुगल सर्च’ गर्दा नेपालको यही घटनाका समाचार शुरूमै भेटिन्छन्। तर, जेनजी विद्रोह भएको नेपाल एक्लो देश भने होइन रहेछ।
जेनजी विद्रोह, सन् १९९७ देखि २०१२ सम्म जन्मेका (१३–२८ वर्षका) नवयुवाद्वारा नेतृत्व गरिएका विश्वव्यापी विरोध प्रदर्शनहरूको एक शृंखला हो। नेपालमा यो विद्रोहको तत्कालीन कारण– सामाजिक सञ्जालमाथि सरकारले लगाएको प्रतिबन्ध भए पनि नेता र उनीहरूका छोराछोरी (नेपोकिड)को विलाशी जीवनशैली, देशमा व्याप्त भ्रष्टाचार र बेरोजगारीविरुद्ध थियो। आन्दोलनपछि संसद विघटन, अन्तरिम सरकार गठन भएको छ। ६ महिनाभित्र चुनाव गराउनुपर्ने यस सरकारको जिम्मेवारी छ।
जेनजी आन्दोलन मुख्य रूपमा २०२४ देखि २०२५ सम्म विभिन्न देशहरूमा फैलिएको देखिन्छ। जसमा भ्रष्टाचार, आर्थिक असमानता, बेरोजगारी, कुशासन, जलवायु परिवर्तन र प्रतिबन्धात्मक नीतिहरूविरुद्धको असन्तुष्टि मुख्य कारणहरू रहेका छन्।
जेनजीहरूले सामाजिक सञ्जाल प्लेटफर्महरू जस्तै टिकटक, फेसबुक, इन्स्टाग्राम र एक्स (ट्विटर)लाई मुख्य माध्यम बनाएर यी प्रदर्शनहरू समन्वय गरिरहेका छन्। नेपालको सन्दर्भमा मोबाइल एप– डिस्कर्डको पनि धेरै प्रयोग भयो। प्रविधिको धेरै प्रयोग गरिने भएकाले जेनजी आन्दोलनलाई ‘डिजिटल विद्रोह’ पनि भन्ने गरिएको छ। यो पुस्ता प्रविधिसँग जोडिएको र विश्वव्यापी मुद्दाहरूप्रति संवेदनशील भएकाले यिनीहरूका प्रदर्शनहरू छिट्टै फैलिने र प्रभावकारी हुने गरेका छन्।
केन्याबाट शुरूआत
केन्याबाट शुरू भएको यो लहर अफ्रिका हुँदै एशिया र अन्य क्षेत्रहरूमा पुगेको छ। नेपालबाहेक विश्वका विभिन्न देशहरूमा पनि जेनजीहरूले सक्रिय रूपमा प्रदर्शन गरेका छन्। अफ्रिकामा यो आन्दोलन सबैभन्दा बलियो देखिएको छ।
केन्यामा सन् २०२४ जुनमा ‘रिजेक्टफाइनान्सबिल२०२४’ ह्यासट्यागबाट शुरू भएको प्रदर्शनमा कर वृद्धि र भ्रष्टाचारविरुद्ध लाखौं युवाहरू सडकमा उत्रिए। यसले राष्ट्रपति विलियम रुटोको सरकारलाई हल्लाएको थियो, जसमा प्रहरीको हिंसामा दर्जनौं प्रदर्शनकारी मारिए। प्रदर्शनहरूको दबाबमा राष्ट्रपति रुटोले विधेयकलाई अस्वीकार गरे र यसलाई फिर्ता लिइयो।
रुटोले आफ्नो मन्त्रिपरिषद्लाई विघटन गरे र नयाँ मन्त्रिपरिषद् गठन गरे, जसमा विपक्षीहरूबाट पनि केही सदस्यहरू समावेश गरियो। यसलाई आन्दोलनको एक प्रमुख उपलब्धि मानिन्छ। यो आन्दोलनले केन्यामा राजनीतिक जागरण ल्याउनुका साथै जेनजी युवाहरूलाई सशक्त बनायो। अहिले पनि केन्यामा असन्तुष्टि र प्रदर्शनहरू जारी छन्।
केन्याकै जेनजी विद्रोहले अन्य अफ्रिकी देशहरूमा पनि आन्दोलनहरूलाई प्रेरित गरेको छ। उगान्डामा २०२४ जुलाईमा ‘मार्च टु पार्लियामेन्ट’ नामक प्रदर्शन भयो, जसमा युवाहरूले भ्रष्टाचार र संसदको खर्चविरुद्ध आवाज उठाएका थिए। यसमा दर्जनौं प्रदर्शनकारी गिरफ्तार पनि भए। त्यही वर्षको अगस्टमा नाइजेरियामा ‘इन्डब्याडगभर्नेन्स’ ह्यासट्यागसहित प्रदर्शनहरू भए, जसले इन्धन मूल्यवृद्धि र जीविकोपार्जनको लागत घटाउन माग गरेका थिए।
त्यहाँ २०२६ मा हुने आम चुनावमा राष्ट्रिय प्रतिरोध आन्दोलन (एनआरएम) अन्तर्गतका जेनजी समूहले दलका नेताहरूलाई चुनावी अभियानका क्रममा युवाहरूको शोषण नगर्न र आफूलाई पनि हिंसाको औजारको रुपमा प्रयोग गर्न नदिने चेतावनी दिएको छ। ‘जेन जेड फर जेन ७’ ब्यानर अन्तर्गत सन्चालन हुने यस समूहले अबको राजनीतिक प्रक्रियामा अहिंसा, सहिष्णुता र रचनात्मक सहभागिताको समर्थन गर्ने प्रतिज्ञा गर्दै शान्तिपूर्ण चुनाव अभियान थालेको छ।
घानामा आर्थिक समस्या, शिक्षा लागत र भ्रष्टाचारविरुद्ध युवाहरू सक्रिय छन्, भने मोजाम्बिकमा बेरोजगारी र भ्रष्टाचारले युवा नेतृत्वका विरोधहरू भएका छन्।
एशियामा झन् उग्र
एशियामा यो लहर अझ फैलिएको छ। बांग्लादेशमा २०२४ मा सरकारी जागिर कोटा प्रणालीविरुद्ध शुरू भएको प्रदर्शनले प्रधानमन्त्री शेख हसीनाको सरकारलाई ढालिदियो। हसिना र उनको परिवार देश छाडेर भारतमा शरण लिने अवस्था आयो। त्यस आन्दोलनमा सयौँ प्रदर्शनकारी मारिएका थिए।
‘जुलाइ रिभोलुसन’ भनेर पनि चिनिने यस आन्दोलने बांग्लादेशमा मोहमद युनुसको नेतृत्वमा अन्तरिम सरकार गठन गर्यो। अहिले न्याय तथा सुधारको लागि त्यहाँको अन्तरिम सरकारले काम गरिरहेको छ। यद्यपि, युवाहरूमाझ विरोध र असन्तुष्टि भने कायमै छ।
श्रीलंकामा २०२२ को ‘अरगलया’ आन्दोलनलाई जेनजी विद्रोहको पूर्ववर्ती मानिन्छ। त्यस विद्रोहमा त्यहाँका राष्ट्रपति गोटावा राजापाक्षले पनि देश छाडेर भाग्नुपर्यो। उनी भागेसँगै श्रीलंकामा वर्षौंदेखि चल्दै आएको राजापाक्षे परिवारको शासन अन्त्य भयो। तत्कालीन समयमा उक्त आन्दोलनलाई जेनजीसँग नजोडे पनि अहिले जेनजी आन्दोलनसँग जोडेर छलफल गर्ने गरिएको छ। त्यही आन्दोलनको परिणामस्वरुप सत्ताको बागडोर वामपन्थी नेताको हातमा आयो।
गत वर्ष भएको चुनावमा श्रीलंकाली जनताले वामपन्थी नेता ५६ वर्षीय अनुरा कुमारा दिसानायकेलाई राष्ट्रपतिमा जिताए। आफूलाई मजदुरको नेता बताउने उनले चुनावी अभियानमा भ्रष्टाचार अन्त्यका लागि कडा कदम चाल्ने र सुशासन सुनिश्चित गर्ने प्रतिबद्धता गरेका थिए। अहिले दिसानायके नेतृत्वको सरकार र कामले आलोचना÷प्रशंसा दुवै पाइरहेको छ।
पुरानो व्यवस्थाबाट निराश नयाँ पुस्ताले यस्तो विद्रोहलाई अँगालेका छन्। यसै वर्ष इन्डोनेसिया र फिलिपिन्स पनि यस्तै प्रदर्शनहरूले घेरिए। फिलिपिन्सको मनिलामा हजारौं युवाहरूले आर्थिक अवसर र भ्रष्टाचारविरुद्ध सडक जाम गरेका थिए। मंगोलियामा २०२५ मेमा भ्रष्टाचार र अभिजात वर्गको विशेषाधिकारविरुद्ध प्रदर्शनहरू भए, जसले पारदर्शिता र जवाफदेहीताको माग गरेका थिए।
भारतको लद्दाखमा पनि युवा तथा विद्यार्थीहरूले स्वायत्त राज्यको माग र जलवायु संरक्षणविरुद्ध प्रदर्शन गरेका छन्, जसमा वैज्ञानिक तथा अभियन्ता सोनम वाङचुक जस्ता व्यक्तिहरूले नेतृत्व गरेका थिए। प्रदर्शनकारीले भारतीय जनता पार्टी (भाजपा)को कार्यालयमा आगजनीसमेत गरे। वाङचुकले एक्समा एक भिडियो सन्देश जारी गर्दै उक्त प्रदर्शनलाई जेनजी क्रान्ति भनेका थिए। अहिले वांचुक प्रहरीको नियन्त्रणमा छन् भने त्यहाँको विरोध रोकिएको छैन।
अमेरिकामा पनि विद्रोह
दक्षिण अमेरिकी देश पेरुमा पनि जेनजीले राष्ट्रपति डिना बोलुआर्टेको सरकारविरुद्ध विद्रोह वा प्रदर्शन गरिरहेका छन्। गत हप्ता त्यहाँको संसदबाट १८ वर्षमाथिका सबैलाई निजी पेन्सन कोषमा सामेल हुनुपर्ने बाध्यकारी कानून पारित गरेपछि विरोध प्रदर्शनहरू तीव्र भएको हो। यसबाहेक, लामो समयदेखिका समस्या जस्तै भ्रष्टाचार, संगठित अपराध र आर्थिक असुरक्षा जस्ता कुराले आन्दोलनलाई बल पुर्याएको छ।
यो प्रदर्शन लिमा शहरमा हिंसात्मक रूपमा परिणत भएको छ, जहाँ प्रदर्शनकारी र प्रहरीबीच झडप हुँदा दर्जनौं घाइते भएका छन्। जेनजीले सरकारको भ्रष्टाचार र अकर्मण्यताविरुद्ध आवाज उठाउँदै राष्ट्रपतिको राजीनामा मागिरहेका छन्। यस आन्दोलनमा यातायातकर्मी, व्यापारीहरू पनि सामेल भएका छन्।
अहिले विभिन्न देशमा फैलिइरहेको जेनजी विद्रोह हेर्दा भविष्यमा थप देशहरूमा फैलिन सक्ने र यसले शासक वर्गलाई चुनौती दिने प्रष्ट छ।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
