पूर्वप्रधानमन्त्री ओलीसहित पाँच जनाको विदेश भ्रमणमा रोक

जेनजी आन्दोलन जाँचबुझ आयोगले पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीसहित पाँच जनाको विदेश भ्रमणमा रोक लगाउन र आयोगको स्वीकृतिबिना काठमाडौँ उपत्यका नछाड्ने व्यवस्था मिलाउन सम्बन्धित निकायमा पत्राचार गर्ने निर्णय गरेको छ।

पूर्वप्रधानमन्त्री ओलीसहित पाँच जनाको विदेश भ्रमणमा रोक
फाइल तस्वीर

काठमाडौँ– भदौ २३ र २४ गते भएको जेनजी आन्दोलनसम्बन्धी घटनाको छानबिन गर्न गठित जाँचबुझ आयोगले पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीसहित पाँच जना उच्च पदस्थ व्यक्तिहरूलाई अनुसन्धानको दायरामा ल्याएको छ।

आयोगका सदस्य विज्ञानराज शर्माले जारी गरेको प्रेस विज्ञप्तिअनुसार आयोगले पूर्वप्रधानमन्त्री ओली, पूर्वगृहमन्त्री रमेश लेखक, पूर्वगृहसचिव गोकर्णमणि दुवाडी, राष्ट्रिय अनुसन्धानका पूर्वप्रमुख हुतराज थापा र काठमाडौँका पूर्वप्रमुख जिल्ला अधिकारी छविलाल रिजालको विदेश भ्रमणमा रोक लगाउन सम्बन्धित निकायलाई पत्राचार गर्ने निर्णय गरेको छ।

छानबिन नसकिएसम्म उनीहरूलाई आयोगको स्वीकृतिबिना काठमाडौँ उपत्यका नछाड्ने व्यवस्था मिलाउन पनि पत्राचार गरिएको छ। “छानबिनका लागि कुनै पनि समयमा आयोगमा उपस्थित हुनु पर्ने हुँदा आयोगको स्वीकृतिबेगर काठमाडौँ उपत्यका छाड्न नपाउने व्यवस्था गर्न गराउनका लागि सम्बन्धित निकायमा पत्राचार गर्ने,” आयोगको विज्ञप्तिमा भनिएको छ।

यसैगरी, आयोगले जाँचबुझको कामलाई प्रभावकारी रूपमा सम्पादन गर्न विज्ञसहितको थप जनशक्ति आवश्यक परेकाले जनशक्ति उपलब्ध गराइदिन गृह मन्त्रालयमा लेखी पठाउने निर्णयसमेत गरेको छ।

सरकारले भदौ २३ र २४ गतेको घटनाको सत्यतथ्य छानबिन गर्न असोज ५ गते पूर्वन्यायाधीश गौरीबहादुर कार्कीको अध्यक्षतामा आयोग गठन गरेको थियो। आयोगका सदस्यहरूमा नेपाल प्रहरीका पूर्वएआईजी विज्ञानराज शर्मा र कानूनविद् विशेश्वरप्रसाद भण्डारी छन्। आयोगलाई घटनाको छानबिन गरी प्रतिवेदन बुझाउन तीन महिनाको समय दिइएको छ।