‘जेनजी’ प्रदर्शनका घाइतेको वर्गीकरण गर्न समिति बनाइने, प्रधानमन्त्रीको मुख्य सल्लाहकारमा खनाल

मन्त्रिपरिषद् बैठकले 'जेनजी' प्रदर्शनमा घाइते भएकाहरूको वर्गीकरण गर्न प्राविधिक समिति गठन गर्ने, प्रधानमन्त्रीको मुख्य सल्लाहकारमा अजयभद्र खनाल र जनसम्पर्क सल्लाहकारमा गोविन्दनारायण तिमल्सिनालाई नियुक्त गर्ने लगायतका निर्णय गरेको छ।

काठमाडौँ– सरकारले ‘जेनजी’ प्रदर्शनका क्रममा घाइते भएकाहरूको वर्गीकरण गर्न प्राविधिक समिति गठन गरी तत्काल काम अगाडि बढाउने भएको छ।

सिंहदरबारमा आइतबार बसेको मन्त्रिपरिषद् बैठकले प्राविधिक समितिको वर्गीकरणपश्चात् त्यस आधारमा घाइतेलाई उचित राहतको व्यवस्था गर्ने निर्णय गरेको सरकारका प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले जानकारी दिए।

बैठकले गत भदौ २३ र २४ गतेको प्रदर्शनमा घाइते भएका व्यक्तिको पहिचान एवं सहज र प्रभावकारी उपचारको व्यवस्थाका लागि गृह मन्त्रालयमार्फत परिचयपत्रको व्यवस्था गर्ने, स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले घाइतेको पुनः उपचार (फलो अप)का लागि अस्पताल तोक्ने र ती अस्पतालमा ‘जेनजी क्लिनिक’ सञ्चालन गर्ने निर्णय गरेको छ।

पुनः उपचारमा जाने घाइतेलाई निःशुल्क आवतजावत तथा घाइतेको उपचारमा सहजीकरण गर्न स्वास्थ्य मन्त्रालयले हटलाइनको व्यवस्था र सम्पर्क व्यक्ति तोक्ने निर्णयसमेत गरिएको प्रवक्ता खरेलले जानकारी दिए।

मन्त्रिपरिषद्ले मुग्लिन–पोखरा सडकअन्तर्गत चितवनको मुग्लिनदेखि तनहुँको आँबुखैरेनीसम्म हालको राजमार्गको समानान्तर मुग्लिन बजार पारी गोरखातर्फदेखि मर्स्याङ्दी विद्युत् गृहको विपरीत गोरखा तर्फसम्म थप सडकको रेखांकन स्वीकृत गरेको छ। उक्त सडकको केन्द्र रेखाबाट दायाँबायाँ १५/१५ मिटर गरी ३० मिटर सडकको मापदण्ड स्वीकृत गर्ने निर्णय भएको छ।

बैठकले आगामी कात्तिक १० देखि १३ गतेसम्म भारतको नयाँ दिल्लीमा आयोजना हुने अन्तर्राष्ट्रिय सौर्य गठबन्धन (आईएसए)को आठौँ बैठकमा सहभागिताका लागि ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री कुलमान घिसिङलाई स्वीकृति दिएको छ।

यसैगरी, प्रधानमन्त्रीको मुख्य सल्लाहकारमा अजयभद्र खनाल र जनसम्पर्क सल्लाहकारमा गोविन्दनारायण तिमल्सिनालाई नियुक्त गर्ने निर्णयसमेत गरिएको मन्त्री खरेलले बताए।