चार डीआईजीलाई एआईजीमा बढुवा गर्न सिफारिस

गृह मन्त्रालयअन्तर्गतको बढुवा समितिले नेपाल प्रहरीका चार जना प्रहरी नायब महानिरीक्षक (डीआईजी)लाई प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) पदमा बढुवाका लागि सिफारिस गरेको छ।

काठमाडौँ– गृह मन्त्रालयअन्तर्गतको बढुवा समितिले नेपाल प्रहरीका चार जना प्रहरी नायब महानिरीक्षक (डीआईजी)लाई प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) पदमा बढुवाका लागि सिफारिस गरेको छ। समितिको आइतबार बसेको बैठकले जनपद प्रहरी समूहतर्फ रिक्त रहेका चार एआईजी पदका लागि बढुवा सिफारिस गरेको हो।

बढुवा समितिको सचिवालयले आइतबार सार्वजनिक गरेको सिफारिस सूचीको पहिलो नम्बरमा डीआईजी सुशील सिंह राठौर छन्। त्यसैगरी, दोस्रोमा उमाप्रसाद चतुरबेदी, तेस्रोमा हिमालयकुमार श्रेष्ठ र चौथोमा डम्बरबहादुर बिक. रहेका छन्। 

उनीहरूलाई प्रहरी नियमावली, २०७१ (संशोधनसहित) को नियम २७ को उप-नियम (४) बमोजिम बढुवाका लागि सिफारिस गरिएको समितिका सदस्य-सचिव प्रहरी महानिरीक्षक चन्द्र कुवेर खापूङ जारी गरेको सूचनामा उल्लेख छ। गृह मन्त्रालयको बढुवा सिफारिसलाई अब मन्त्रिपरिषद् बैठकले अनुमोदन गर्नुपर्ने हुन्छ।