जेनजी आन्दोलन जाँचबुझ आयोगको निर्णयप्रति एमालेको आपत्ति

एमालेले भदौ २४ को घटनामा संलग्न दोषीहरूलाई कारबाही अगाडि नबढाउन गृह मन्त्रालयले नेपाल प्रहरीलाई दिएको निर्देशनप्रति पनि ध्यानाकर्षण भएको जनाएको छ।

काठमाडौँ– नेकपा एमालेले भदौ २३ र २४ को घटनासम्बन्धी जाँचबुझ आयोगले पार्टी अध्यक्ष केपी शर्मा ओलीसहितका व्यक्तिको राहदानी रोक्काका लागि गरेको सिफारिसप्रति आपत्ति प्रकट गरेको छ। पार्टी अध्यक्ष ओलीको अध्यक्षतामा आइतबार सम्पन्न केन्द्रीय सचिवालयको ५७औँ बैठकले यो कदम 'राजनीतिक प्रतिशोधयुक्त' रहेको निष्कर्ष निकालेको हो।

बैठकपछि पार्टी महासचिव शंकर पोखरेलले जारी प्रेस वक्तव्यमा भनिएको छ, “दशैँको मौका पारेर गरिएको यस राजनीतिक प्रतिशोधयुक्त कदमप्रति केन्द्रीय सचिवालय गम्भीर आपत्ति प्रकट गर्दछ। यस्ता प्रतिशोधपूर्ण निर्णयले आयोगको विश्वसनीयतामा समेत गम्भीर प्रश्न खडा गरेको छ।” एमालेले आयोगको निर्णयअघि नै गृह मन्त्रालयमार्फत ‘मिडिया ट्रायल’ गरिएको भन्दै असन्तुष्टि व्यक्त गरेको छ।

एमालेले भदौ २४ को विध्वंसकारी घटनामा संलग्न दोषीहरूलाई कारबाही अगाडि नबढाउन गृह मन्त्रालयले नेपाल प्रहरीलाई दिएको निर्देशनप्रति पनि ध्यानाकर्षण भएको जनाएको छ।

"यस निर्देशनले अपराध अनुसन्धान गर्ने नेपाली प्रहरीको कानूनसम्मत क्षेत्राधिकारमाथि मात्रै हस्तक्षेप गरेको छैन, यसले अपराधीहरूको मनोबल बढाउने र उन्मुक्ति दिने आपत्तिजनक मनसाय समेत बोकेको छ," वक्तव्यमा उल्लेख छ। एमालेले यसप्रति गम्भीर आपत्ति प्रकट गर्दै नेपाल प्रहरीलाई निर्बाध काम गर्ने वातावरण सुनिश्चित गर्न सरकारको ध्यानाकर्षण गराएको छ।

पार्टीले पछिल्लो घटनाक्रमबारे छलफल गरी आवश्यक निर्णय लिन केन्द्रीय कमिटीको दशौँ बैठक असोज २७ देखि २९ गतेसम्म काठमाडौँमा बस्ने निर्णय गरेको छ। त्यसअघि, केन्द्रीय सचिवालयको अर्को बैठक असोज १९ र २० गते काठमाडौँमा बस्ने तय भएको पनि प्रेस वक्तव्यमा उल्लेख छ।