पृथ्वीनारायण शाहको पालादेखि हतियारमा साँध लगाइरहेको परिवार

नुवाकोटका नरबहादुर विकका पुर्खालाई पृथ्वीनारायण शाहको पालादेखि हतियारमा साँध लगाउने जिम्मेवारी दिइएको थियो। यसलाई निरन्तरता दिँदै नरबहादुर दशैँमा नुवाकोट दरबारमा पुगेर हतियारमा साँध लगाउने गर्छन्।

पृथ्वीनारायण शाहको पालादेखि हतियारमा साँध लगाइरहेको परिवार
फाइल तस्वीर।

काठमाडौँ– काठमाडौँको धापासीमा एक निजी कार्यालयमा काम गर्ने बच्चुराम विक तीन दिनअघि नै दशैँ मनाउन नुवाकोट बोरापानीस्थित घर फर्किए। उनीसँगै घरमा दशैँको रौनक पनि पुग्यो।  

दशैँको रमाइलोसँगै सोमबार भने उनी ८६ वर्षीय बुबा नरबहादुर विकसँग हतियारमा साँध लगाउन नुवाकोट दरबार पुगेका छन्। यो उनीहरूको पुर्ख्यौली पेसा हो। पितापुर्खाले राजा पृथ्वीनारायण शाहबाट सेनाको हतियारमा साँध लगाउने जिम्मा पाए थिए, जसलाई बुबाछोराले निरन्तरता दिइरहेका छन्।  

“पृथ्वीनारायण शाहले नुवाकोट आक्रमणका क्रममा पितापुर्खाले उहाँहरूको हतियारमा साँध लगाउने गर्नुहुन्थ्यो। साँध लगाएका हतियार लिएर पुन: युद्धका लागि निस्कने गरेको कथा हामीले पनि बाजेबाट सुनेका हौँ,” उनी भन्छन्, “विजय हासिल भएसँगै हामीलाई यही कामका लागि नुवाकोटमै राखियो।”

उमेरले आठ दशक पुगेका नरबहादुर र छोरा बच्चुराम (६६) करिब तीन घण्टा यात्रा गर्दै नुवाकोटस्थित तलेजु भवानी मन्दिर नजिकै रहेको द्वारे (नुवाकोटको पुरातात्त्विक तथा सांस्कृतिक रीतिरिवाजको समग्र व्यवस्थापन गर्ने प्रतिनिधि) को घरमा पुगेका छन्।  

हाल द्वारेको रूपमा महेन्द्र कुमार शाही रहेका छन्। शाहीका अनुसार, मन्दिरमा रहेका सबै हतियार शाहकालीन हुन्। बली दिने एउटा खड्गबाहेक अन्य हतियार देवीको रूपमा अष्टमी र नवमीका लागि जमरा घरमा पुज्ने गरिएको छ। यसबाहेक, घटस्थापनामा जमरा राख्न र फूलपातीमा कलश स्थापनाका लागि चाँदीको कलश, मैनबत्ती दानीसहित पूजा विधिका अन्य सामाग्री शृंगार्ने जिम्मेवारी विक पारिवरलाई दिने गरिएको उनले बताए। 

सो कलश अन्दाजी १६० तोला चाँदीको रहेको छ। कलश फूलपातीमा अनिवार्य रहेको नरबहादुरले बताए। फूलपातीदेखि नवमीसम्म हुने बलीका लागि पनि हतियार साँध्ने गरिन्छ। उनीहरू तीनै दिन दरबार क्षेत्रमा आएर साँध लगाउने काममा संलग्न हुन्छन्। 

null

‘साँध नहाली सन्तोक लाग्दैन’
नरबहादुर २००७ सालदेखि आफ्ना बुबासँग नुवाकोट आलेका हुन्। त्यसबेला उनी ११ वर्ष मात्रै पुगेका थिए। अहिले छोरा बच्चुरामले साथ दिइरहेका छन्। 

“पहिले–पहिले हजुरबा र बुबा आउनुहुन्थ्यो। हजुरबा बितेपछि बुबा र मैले निरन्तरता दिइरहेका छौँ। पुस्तान्तरण भनेको सायद यही नै होला,” बच्चुराम भन्छन्। 

छोरा बच्चुरामले घरव्यवहार सम्हालिरहेका छन्। आइपर्ने जिम्मेवारी पनि समय मिलाएर गरिरहेका छन्। तर पनि दशैँ र चैते दशैँको समयमा आफै हतियारमा साँध लगाउन नपुगी हुँदैन। बोरापानीबाट मन्दिर पुग्न तीन घण्टा लाग्छ। 

“यहाँ नआए मनले सन्तोक नै पाउँदैन। म आउँदा छोरालाई पनि काममा सहयोग हुन्छ,” तरबार देखाउँदै उनले भने, “यो एउटा तरबार पृथ्वीनारायण शाहको हो। नुवाकोट राज्यमा युद्ध जित्ने क्रममा प्रयोग भएको तरबार यही हो। बाँकी हतियार पनि त्यही पालाका हुन्। ”

यी हतियार पुरातत्त्व विभागन्तर्गत नुवाकोट दरबार हेरचार अड्डाको संरक्षणमा छन् त्यसैले यी पुरातात्त्विक र ऐतिहासिक महत्वका छन्। यसबाहेक घटस्थापनामा जमरा राख्ने भाँडा, मैनदानी, कलशलगायत भाँडाकुडा पनि सरसफाइ गर्छन्।

 काम गरेबापत उनीहरूले पाउने रकम हो, १५ हजार रुपैयाँ। बडादशैँमा ७ हजार ५०० र चैते दशैँमा ७ हजार ५०० हातमा आउँछ। 

“गुठी होउन्जेल ८० मुरी (धान गहुँ) फल्ने माटो भएको खेत थियो। पछि जग्गा दर्ता (भूमि विधेयक) सँगै १० मुरी धान बराबरको तलब पाउन थालियो,” नरबहादुर भन्छन्, “अहिले चैतको दुई दिन र दशैँको तीन दिन गरेर १५ हजार हातमा पर्छ।”

नरबहादुरको आयआर्जनको स्रोत यही हो। “यति पैसाले पुग्छ त?” उकालोको प्रश्नमा उनी भन्छन्, “अहिले सन्तोकको लागि आउँछु। काम छोराले नै गर्छ। तर, यहाँ आएर यी सामानलाई हात लगाएपछि सन्तोक लाग्छ।”