एशिया कप विवाद: भारत र पाकिस्तानका खेलाडीबीच आरोप–प्रत्यारोप

फाइनलपछि करिब एक घण्टा ढिलो शुरू भएको समारोहमा उद्घोषक साइमन डुलले भारतीय टोलीले पुरस्कार ग्रहण नगर्ने निर्णय गरेको बताउँदै कार्यक्रम सकिएको घोषणा गरेका थिए।

एशिया कप विवाद: भारत र पाकिस्तानका खेलाडीबीच आरोप–प्रत्यारोप
पीटीआई

एसिया कप २०२५ को फाइनलमा भारतले पाकिस्तानलाई पाँच विकेटले पराजित गरी उपाधि जितेपछि दुवै देशका खेलाडीबीच आरोप–प्रत्यारोप चर्किएको छ। भारतले उपाधि जितेपछि ट्रफी नलिएपछि दुवै टोलीका खेलाडी आरोप–प्रत्यारोपमा उत्रिएका हुन्।

पाकिस्तानका कप्तान सलमान अघाले भारतको व्यवहारले क्रिकेटप्रति अनादर गरेको बताए। भारतीय कप्तान सूर्यकुमार यादवले च्याम्पियन टोलीलाई ट्रफीबाट वञ्चित गरिएको गुनासो गरेका छन्। 

आइतबार राति दुबईमा भएको फाइनल खेलपछि तेस्रो खेलमा जस्तै दुवै टोलीले हात मिलाउन अस्वीकार गरे। भारतीय टोलीले पाकिस्तान क्रिकेट बोर्डका अध्यक्ष तथा एसीसीका प्रमुख मोहसिन नकवीबाट ट्रफी लिन नमानेपछि स्थिति झनै बिग्रियो। भारत विजय समारोहमा समेत सहभागी भएन। 

“मैले क्रिकेट खेल्न थालेदेखि आजसम्म कहिल्यै देखेको थिइनँ कि च्याम्पियन टोलीलाई ट्रफी दिनै नमानिएको होस्,” भारतीय कप्तान सूर्यकुमारले भने,  “हामीले मैदानमै बसेर सामूहिक निर्णय गरेका थियौँ। वास्तविक ट्रफी त मेरा खेलाडी र सहयोगी स्टाफ हुन्, जुन ड्रेसिङ रुममै छन्। ठूलो पर्दामा ‘भारत एसिया कप २०२५ को विजेता’ भनेर देखिनु नै हाम्रो लागि ठूलो गौरव हो।”

फाइनलपछि करिब एक घण्टा ढिलो शुरू भएको समारोहमा उद्घोषक साइमन डुलले भारतीय टोलीले पुरस्कार ग्रहण नगर्ने निर्णय गरेको बताउँदै कार्यक्रम सकिएको घोषणा गरेका थिए।

यसपछि पाकिस्तानका कप्तान सलमान अघा असन्तुष्ट देखिए। “प्रतियोगिताभर भारतले जे व्यवहार देखायो, त्यो क्रिकेटका लागि निकै निराशाजनक हो। यदि उनीहरूले हामीसँग हात नमिलाएर हाम्रो अनादर गरेको सोच्दा हुन् भने, वास्तवमा उनीहरूले खेलको नै अनादर गरेका हुन्,” उनले भने, “हामीले भने खेल ‘स्पिरिट’ अनुसार पदक लिएर फर्कियौँ।”

यस्तो व्यवहारले क्रिकेटलाई राम्रो नगर्ने उनको भनाइ थियो। “यो पहिलोपटक देखिएको घटना हो। यसरी चलिरह्यो भने भविष्यमा कहाँ पुग्छ भन्ने अनुमान गर्नै सकिँदैन। यो क्रिकेटका लागि राम्रो होइन,” अघाले भने। (रासस/एएफपी)