६ दशकभन्दा लामो सिनेमा यात्रामा कीर्तिमानी व्यावसायिक सफलता प्राप्त गर्ने एकातिर छन् भने, अर्कोतिर कथनशैलीको सुन्दरता, नयाँ प्रयोग र अन्तर्राष्ट्रिय मञ्चमा नेपाली पहिचान स्थापित गर्ने सिनेमा छन्।
काठमाडौँ- नेपाली सिनेमाले ६ दशकभन्दा लामो समयको यात्रा पार गरिसकेको छ। यस क्रममा थुप्रै चलचित्रले दर्शकमाझ गहिरो छाप छोड्न सफल भएका छन्। कुनै चलचित्र व्यापारिक हिसाबले अब्बल रहे, कसैको कथनशैली सुन्दर थियो, कुनैमा नयाँ प्रयोग भयो त कुनै गीत–संगीतले नै दर्शकलाई हलसम्म तान्यो। यस क्षेत्रको विश्लेषण र संश्लेषण निरन्तर भइरहेका छन्।
तर, नेपाली सिनेमाको सफलताको मापन के हो भन्ने बहस चलचित्र वृत्तमा गहिरो छ। गत असार १६ गते, चलचित्र विकास बोर्डले २५ वटा सर्वोत्कृष्ट फिल्मको सूची सार्वजनिक गरेर ती फिल्मलाई सम्मान गरेपछि बहस सतहमा देखियो।
अहिलेसम्म सर्वोत्कृष्ट कमाइ गर्ने चलचित्र 'पूर्णबहादुरको सारंगी' बन्यो। यो फिल्म व्यावसायिक रूपमा उत्कृष्ट बनिरहँदा 'शाम्बाला' जस्ता अन्तर्राष्ट्रिय मञ्चमा पुगेका र घरेलु हलमा पनि राम्रै दर्शक तानेका फिल्महरू चलचित्र विकास बोर्डको सर्वोत्कृष्ट सूचीमा पर्न नसक्नुले 'सफल चलचित्रको मान्यता' माथि नै बहस छेड्यो। यद्यपि, हामी व्यावसायिक रूपमा सफल चलचित्रका साथै नेपाली सिनेमाको इतिहासमा छाप छोडेका चलचित्रहरूबारे स्मरण गर्नेछौँ जसले नेपाली चलचित्र उद्योगमा गहिरो प्रभाव पारे।
जो कर्मसियल रूपमा सफल भए
नेपालमा उच्च कमाइलाई दर्शकको व्यापक रुचीको प्रमाण मानिन्छ। यस आधारमा चलचित्र पूर्णबहादुरको सारंगीले हालसम्मकै उच्च कमाइ अर्थात् ४६ करोड ८७ लाख रुपैयाँ कलेक्सन गरेको छ। गन्धर्व समुदायको पात्र र बाबु-छोराको भावनात्मक सम्बन्धकन्द्रित यस फिल्ममा विजय बराल मुख्य भूमिका रहेका छन्। यस फिल्मका निर्माता विनोद पौडेल हुन्।
उच्च कमाइ गर्ने क्रममा दोस्रोमा 'कबड्डी ४' पर्छ, जसले २१ करोड ४० लाख कमाइ गरेको थियो। गत दशैँमा समीर भट्टको डेब्यु चलचित्र 'बाह्र गाउँ' १९ करोड ९२ लाख कमाइसहित तेस्रो उत्कृष्ट बन्यो।
व्यावसायिक फिल्मको क्रममा दीपाश्री निरौला र दीपकराज गिरीको 'छक्का पञ्जा' सिरिजका चलचित्रले उत्कृष्ट १० मा स्थान हासिल गरेका छन्। त्यसभित्र पनि 'छक्का पञ्जा ४' १७ करोड ५३ लाख को कमाइसहित चौथो स्थानमा रह्यो। प्रायः दशैँको छेकोमा चलचित्र रिलिज गर्ने यी निर्माता तथा निर्देशकका चलचित्र सबै हिट भएका कारण उनीहरूलाई 'हिट मेसिन' पनि भनिन्छ।
निर्देशक उपेन्द्र सुब्बाले मूलधारको फिल्मी कथाबाट फरक लिम्बू समुदायको कथालाई प्रस्तुत गरेको चलचित्र पनि ब्लकबस्टर बन्यो र धेरै कमाउने फिल्मको पाँचौँ सूचीमा रह्यो। यसका अलवा, 'महाजात्रा', 'कोहिनूर', 'ऊनको स्वीटर' लगायतका फिल्मले पनि सर्वोत्कृष्ट २५ फिल्मको सूचीमा अटेका छन्।
अन्तर्राष्ट्रिय मञ्चमा पुगेका चलचित्र
नेपाली सिनेमाले अन्तर्राष्ट्रिय कलात्मक मापदण्डमा पनि आफ्नो उपस्थिति जनाएको छ। मीनबहादुर भामको ‘शाम्बाला’ बर्लिन फिल्म फेस्टिभलको मुख्य विधामा प्रतिस्पर्धा गर्ने पहिलो नेपाली चलचित्र बन्यो। फेस्टिभल फिल्महरू घरेलु हलमा नचल्ने मान्यतालाई चुनौती दिँदै यसले अनुमानित २ करोडको बक्स अफिस सहित दर्शकको साथ पनि पायो। यसबाहेक, यसले अन्य विभिन्न अन्तर्राष्ट्रिय चलचित्र फेस्टिभलमा पनि अवार्ड जितेको छ।
यस सूचीमा आउने अर्को चलचित्र हो, नवीन सुब्बाको ‘गाउँ आएको बाटो’। दयाहाङ राईको प्रमुख अभिनय रहेको यो चलचित्र विश्वप्रसिद्ध टोरन्टो चलचित्र फेस्टिभलमा 'सेन्टर पिस' अन्तर्गतको विधामा मनोयनमा परेको थियो।
'सेतो सूर्य', 'हाइवे' जस्ता चलचित्रका निर्देशक दीपक रौनियारको 'पूजा सर, राजागञ्ज'ले भेनिस फिल्म फेस्टिभलमा १० मिनेटको स्ट्यान्डिङ ओभेसन पाउनु नेपाली सिनेमाका लागि ठूलो उपलब्धि थियो। भेनिस, ह्याम्बर्ग, बुसान, मुम्बईजस्ता ठूला फिल्म फेस्टिभलमा प्रभाव पारेको यस फिल्मले नेपालमा रिलिजका क्रममा भने सेन्सरशिपको मार खेप्नुपर्यो।
विश्वप्रसिद्ध टीभी च्यानल एचबीओमा प्रदर्शनीका लागि आधिकारिकता पाएको चलचित्र हो, 'द सेक्रेट अफ राधा', जसले नेपालमा खासै व्यापार गर्न सकेको थिएन। यसै गरी 'ऐना झ्यालको पुतली' र 'द रेड सुटकेस' लगायतका फिल्मले अन्तर्राष्ट्रिय बजारमा छाप छाडे।
यसका अलावा, छिरिङ रितार शेर्पाको 'मुकुण्डो', 'उमा', केशर क्षितिजको 'वुई विल बी द गुर्खाज' जस्ता फिल्मले पनि अन्तर्राष्ट्रिय फेस्टिभल यात्रा गरेका थिए। त्यस्तै, २०७५ सालमा रिलिज भएको चलचित्र 'बुलबुल'ले ओस्कारको एकेडेमी अवार्डमा नेपालको प्रतिनिधित्व गर्ने मौका पाएको थियो।
नयाँ प्रयोग
सन् २००० को दशकपछि नेपाली चलचित्रले प्रेम, पारिवारिक कलह, गरिबी लगायतका परम्परागत सूत्रबाट बाहिर निस्कने प्रयास गर्यो। निश्चल बस्नेतको 'लुट' फिल्म शहरी जीवन, युवा बेरोजगारी र अपराधलाई यथार्थपरक ढंगले उठाएर युवापुस्ताका लागि 'आई-ब्रेकर' सावित भयो।
'कागबेनी' पनि नयाँ प्रयोगको उदाहरण हो। भूषण दाहालको निर्देशनमा बनेको यस फिल्ममा दिया मास्के, सौगात मल्ल जस्ता कलाकारको मुख्य भूमिका थियो। हरर थ्रिलर र मनोवैज्ञानिक शैलीमा बनेको यस चलचित्रले कथावस्तुका साथै फरक परिवेशलाई समेटेको थियो।
मनोज पण्डितको 'दासढुंगा' मदन भण्डारीको जीवन र दुर्घटनामा आधारित भएर राजनीतिक थ्रिलर को विधामा अनुसन्धान र राजनीतिक चेतलाई सिनेमामा उतार्ने सफल प्रयास थियो।
यसबाहेक 'वधशाला'ले माओवादी सशस्त्र द्वन्द्वकालको कथा भन्छ। त्यस्तै, 'साँघुरो' चलचित्र अर्को नयाँ प्रयोग हो। सुकुम्बासी बस्तीमा साँघुरो कोठामा आमा, छोरा र बुहारीको बसाइँ, निजी र प्रेमिल समयको अप्ठ्यारोलाई फरक ढंगबाट प्रस्तुत गर्यो। पछिल्लो समय, रिलिज भएको 'आँखा' फिल्मले पनि मध्यम वर्गीय परिवारको शहरी बसाइँ र दुःखपीडालाई यथार्थपरक रूपमा प्रस्तुत गरेको थियो।
यता, 'चपली हाइट' जस्ता सस्पेन्स थ्रिलर विधाका चलचित्रले आधुनिक युवायुवतीको प्रेम, धोका र प्रतिरोधलाई समेटेर दर्शकलाई नौलो स्वाद दिए।
सम्झनामा पुराना चलचित्र
नेपाली फिल्मको जग 'सत्य हरिशचन्द्र', 'आमा', 'माइतीघर', 'कुमारी' जस्ता फिल्मले हालेका थिए। त्यसपछिको समयमा 'सिन्दूर', 'कोसेली', 'बसन्ती', 'प्रेमपिँजडा', 'चिनो', 'साइनो' जस्ता सफल चलचित्रहरू आए। 'राजमति', 'परालको आगो', 'कन्यादान', 'बलिदान' र राजेश हमाल अभिनित 'युगदेखि युगसम्म' ले नेपाली फिल्मको दर्शक स्थापित गर्न थाले।
निर्देशक तुलसी घिमिरे को योगदान भने उल्लेख्य छ। चाहे 'बलिदान' जस्तो राष्ट्रभक्ति वा 'दर्पणछायाँ', 'कुसुमे रुमाल' जस्ता प्रेमकहानी फिल्ममार्फत उनी नेपाली दर्शकले रुचाएका निर्देशक बने। शिव रेग्मीको 'मानिस', अशोक शर्माको 'ट्रक ड्राइभर', श्रीकृष्ण श्रेष्ठको 'सुख दुःख' जस्ता फिल्महरूले पनि तत्कालीन समयमा ठूलो व्यावसायिक सफलता पाएका थिए, जो नयाँ पुस्ताका लागि नौलो लाग्न सक्छ।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
