फेरिँदैछ मधेशको लोक जीवनमा जोडिएको मेला

आधुनिक विकल्पहरूबीच अब आपसी सञ्चार संवादका लागि मेला आवश्यक माध्यम रहेन। मनोरञ्जन लोक परम्परा र लोक कलामा निर्भर रहेन। किनमेल स्थानीय उत्पादन,सीप र कौशलमा आधारित रहेन।

काठमाडौँ–
मेला कहल जाला 
लोगवन के भीड के
चल आजु चललजाई
देखे हमनी मिल के

अर्थात् ‘मेला मानिसहरूको भीडलाई भनिन्छ, जाऔँ हेर्न जानुपर्छ हामी मिलेर।’ २०४२ सालतिर वीरगन्जका साहित्यकार गोपाल अश्कले भोजपुरी भाषामा लेखेको कवितामा मेलालाई यसरी परिभाषित गरेका छन्। बाँसुरी, बाँसका अरू खेलौना वा माटोका खेलौना किन्ने रहर र बाइसकोप, मौतकुवाँ, जादुगरको ‘शो’ र खेलजस्ता मनोरञ्जनमा रमाउन पाउने अवसरका कारण मेला उनको लागि बाल्यकालमा निकै आकर्षणको विषय थियो। 

सानो छँदा बुवासँग जाने गरेको मेलामा किशोर उमेरमा पुगेपछि दौँतरीहरूसँग जान रुचाउने गर्थे। भदैया (भदौमा भित्र्याइने) धानको कटाइपछि खेतमा छरिन पुगेको बालालाई एकएक गरी बटुल्दै मेलाकै लागि पैसाको जोहो गरेको उनले सम्झे। जेरीभित्र चासनी (रस) पसेर बसेजस्तै उनको बाल्यकालको स्मृतिमा मेला बसेको छ। 

उनको भनाइमा त्यो जमानामा मेलाको अर्थ नै थियो जमघट। र, आज आधुनिकतामा मेलाको रूप बलिएको छ। यसको अति व्यावसायिकीकरण पनि हुँदै गएको छ। “जबकि मेलामा किनमेलको विषय प्राथमिक होइन। यसको पहिलो तत्त्व हो जमघट वा भेटघाट, त्यसपछि आउँछ मनोरञ्जन चाहे त्यो तमासा वा प्रदर्शनको रूपमा होस वा कुस्तीजस्तो खेलको रूपमा र अन्तमा आउँछ किनमेल” अश्कले भने, “परम्परागत मेलामा किनमेल भनेको खानेकुरा र बच्चाहरूको खेलौना जस्ता कुरामा धेरै केन्द्रित हुन्थ्यो, अहिले यसमा व्यापक परिवर्तन आएको छ।” 

कृषिमा आधारित समाज मधेशमा मुख्य बाली धान गोडमेल पनि भइसकेको छ। कार्तिक सकिएपछि बल्ल धनको कटाइको चटारोले थिच्नेछ किसानलाई। भदौको बाली काटिसकेपछि र अर्को बाली तयार हुने बेलाको बिचमा थोरै फुर्सदिलो समय हुन्छ। यस कारण मधेशमा यतिखेर मेलाको ‘मुड’ जागिसकेको हुन्छ। 

कृषि कर्मबाट आंशिक अवकाशको खासगरी यही समय रमाइलो, आपसी भेटघाट र दुःख–सुख साटासाटका लागि सदुपयोग गर्ने क्रममा मेलाको आयोजन हुने चलन स्थापित भएको अश्क बताउँछन्। यति मात्र होइन खलियान, भकारी, गोठ र घरको मर्मत, पुनर्निर्माण वा नवीकरण गर्ने बेलाको हो यो। यसैबिच स्थानीय चलन अनुसार विभिन्न मिति तिथिमा मेला आयोजन हुने गरेको छ। कुनै मेला आसपासका दुई चार गाउँको लागि आकर्षणको केन्द्र हुन्छ भने कतिपय मेलामा टाढा टाढादेखि मानिस पुग्छन्। 

null

“घर घरमा टिभी थिएन, सिनेमा सबैको पहुँचमा थिएन, अहिले जस्तो हात हातमा मोबाइल त्यो पनि इन्टरनेटसहित, भन्ने चिज कल्पनामा पनि थिएन, मनोरञ्जनको लागि यस्ता मेलाहरूको आकर्षण हुन्थ्यो,” साहित्यकार अश्कले भने, “मानिसहरूको आपसी भेटघाट, छोराछोरीको बिहेवारिको लागि प्रस्ताव आदान प्रदान र महिलाहरूको पनि भेटघाट यसमा निहित थियो।” 

मधेशमा साइतमा मात्र ससुरालबाट माइती वा आफन्तकोमा महिलाहरू जान मिल्ने चलन धेरैले मान्थे। त्यस कारण छोरी चेलीलाई माइतीका आमा, भाउजू वा अरू आफन्तसँग भेट्नु परेमा फलानो मेलामा भेट्ने तय गरेर दुवैतिरबाट त्यहाँ पुग्ने गरेका थिए। आमाछोरी मेलाको एउटा किनारमा भेटेर अंकमाल गर्ने गरेको दृश्य हेर्न पाइन्थ्यो। पछि मुह्री, कचरी जेरी खाँदै नजिकैको कुनै मठ मन्दिर वा बगैँचामा घण्टौँ गफिन्थे महिलाहरू। त्यसैमा बच्चाहरूको उत्साह र चकचक पनि हुन्थ्यो।

कतिपय मेला गोरुलगायत पशुधन किनबेचका लागि मसहुर हुन्थे भने कतिपय कुस्ती खेलको लागि चिनिन्थ्यो। कतिपय ठाउँमा पाइने खास कृषि उत्पादन वा किसानलाई चाहिने ज्वालले मानिसलाई आकर्षित गर्ने गरेको हुन्थ्यो। अश्कको बुझाइमा मेला उति बेलाको समाजको आवश्यकता थियो भने अहिले परम्पराको निरन्तरता मात्र हो, जसको स्वरूप र चरित्र फेरिएको छ। 

धेरै प्रकारका पसल राखिने, आर्केस्ट्राहरू नचाउने र लाउडस्पिकर लाएर ध्वनि प्रदूषण फैलाउने र जहाँ चलन थिएन त्यहाँ पनि शोखले मेला शुरू गर्ने जस्ता प्रवृत्ति बढेको पाइएको उनी बताउँछन्। उनको भनाइमा मेलाको सबैभन्दा ठूलो परिर्वतन हो त्यसको उपयोगिता। पहिला यो प्रत्येकको लागि आफ्नै किसिमले उपयोगी थियो भने अहिले यो परम्पराको निर्वाह मात्र हो। 

null

आधुनिक विकल्पहरूबीच अब आपसी सञ्चार संवादका लागि मेला आवश्यक माध्यम रहेन। मनोरञ्जन लोकपरम्पारा र लोककलामा निर्भर रहेन । किनमेल स्थानीय उत्पादन, सीप र कौशलमा आधारित रहेन। मधेशको भाषा र संस्कृतिका जानकार डा. गोपाल ठाकुरका अनुसार कृषि मेला तथा धार्मिक पर्यटकीय मेलाहरूको महत्त्व बेग्लै थियो। मधेशमा प्रचलनमा रहेको मेला नाग पञ्चमीदेखि शुरूआत हुने गरेको उनी बताउँछन्। 

डा. ठाकुरका अनुसार मधेशमा सबभन्दा धेरै प्रचलित रहेको मेला हो ‘माहावीरी झन्डा’को मेला। यसको कुनै तिथि निश्चित हुँदैन। रामायणको पौराणिक कथामा हनुमानले रावणका भाइ अहिरावणको बध गरेको प्रसंगको उत्सव मनाउनेसँग यो मिल्छ। त्यस्तै दशहरा (दशैँ)को समयमा विभिन्न तिथिमा ठाउँ अनुसार मेला आयोजना हुने गरेको पाइन्छ। छठ पर्वको भोलिपल्ट आयोजन हुने मेलाहरू मान्साहारका लागि मसहुर हुन्छन्। 

“दशहराको मेलामा स्थानीय पर्यटन र स्थानीय उत्पादनको व्यापार भने जोडिएको हुन्छ, शाकाहारी, मांसाहारी र मदिरा प्रेमीहरूको लागि पनि मेला गन्तव्य हुने गरेको थियो,” भाषा आयोगका अध्यक्ष समेत रहेका ठाकुरले भने, “दुर्गा भगवतीको मुर्तिसहितको पण्डाल बनाउने कुरा पछि मात्र भित्रियो।” उनका अनुसार श्रमको लागि कोलकाता गएकाहरूले सिकेर यसलाई यता ल्याएका हुन। पहिला १०/२० गाउँको बिचमा एक ठाउँमा यस्तो पण्डाल र मूर्ति राखिन्थ्यो भने अब मानिस सम्पन्न हुन थालेपछि चोकचोकमा देखिन थाल्यो। यो आयातित संस्कृति अब अपनाउन नसकिएको उनले बताए। उनका अनुसार गाउँ गाउँमा हुने देवीको स्थानमा लाग्ने मेला परम्परागत हुन्।

बारा जिल्लास्थित आफ्नो गाउँमा लाग्ने गरेको माहावीरी झन्डामा आफू बाल्यकालमा गएको मुह्री कचरी (पकौडा) किनेर खाएको र बाँसको झुनझुना किनेर घरमा ल्याएको कुरा उनी सम्झिन्छन्। त्यस्तै सिम्रौनगढको मेलामा सर्कस हेरेको पनि सम्झना छ। 

फरक भूगोल, भाषा, कला, संस्कृति र रीतिरिवाजयुक्त नेपाली समाज वर्षैभरि एकपछि अर्को पर्व मनाउँछ। यिनै अवसरमा मेला पनि आयोजना हुने गरेका छन्। अनेकौँ कारणले नेपालको ठूलो जनसंख्याले एकसाथ मनाउने पर्व दशैँलाई तराई/मधेशतिर ‘दशहरा’को रूपमा मनाइन्छ। मधेशमा धेरै ठाउँमा मनाइने मेला यसै दशहराको बीचमा पर्छ। 

सप्तरी कि पत्रकार सुधा देवका अनुसार पहिलो मेलाप्रति बालबालिकाको आकर्षण धेरै हुन्थ्यो। अहिलेका बालबालिकालाई यसमा खासै चासो नभएको उनको भनाइ छ।  

“मैले अनुभव गर्दा मेलाको अर्कै आकर्षण थियो, मेलामा कि परिवारका सदस्य एकसाथ कि टोलका साथीको समूह बनाएर जाने चलन थियो, अब हाम्रो बच्चाहरूलाई नै वास्ता हुँदैन,” राजविराजको चण्डी भगवती मन्दिरमा लाग्ने मेलासँग जोडिएको स्मृति सुनाउँदै उनी भन्छिन्, “मेलामा पाइने परिकारको आकर्षण थियो, झिली, मुह्री, कचरी, जलेबी खानमा हामी रामाउँथ्यौँ, घिर्नी र माटाका खेलौना किनेर ल्याउँथ्यौँ।” उनका अनुसार अहिले ती खेलौना छैनन्, महँगा र आधुनिक खेलौना बच्चाहरूको रोजाइमा छ। “पहिला मेला खर्चिलो थिएन र थोरै खर्चैमा धेरै खुशी थियो। अब धेरै खर्च गरेर पनि त्यो कुरा छैन,” उनले भनिन्।  

नेपालका अन्य भूगोलमा झैँ तराई/मधेशको संस्कृतिलाई मूल रूपमा कृषि कर्ममा आधारित लोक जीवनका रूपमा बुझ्न सकिन्छ। धार्मिक र सामाजिक मान्यतामा आधारित मेला संस्कृति यसैको अंग हो। यतिखेर पनि मधेश मेलामय छ, तर यसको स्वरूप र अर्थ समयसँगै फेरिँदै गएको छ।