दशैँ शुरू भएयता साढे पाँच लाखले छाडे काठमाडौँ

काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयका अनुसार घटस्थापनादेखि आज बिहानसम्म पाँच लाख ५३ हजार २६१ जनाले काठमाडौँ उपत्यका छाडेका छन्।

काठमाडौँ— दशैँको रौनक शुरू भएसँगै संघीय राजधानी काठमाडौँ उपत्यकाबाट बाहिरिने यात्रुको संख्या ह्वात्तै बढेको छ। घटस्थापनादेखि मंगलबार बिहानसम्म मात्रै पाँच लाख ५३ हजार २६१ जनाले काठमाडौँ उपत्यका छाडेका छन्।

काठमाडौँ छाड्ने यात्रुको चाप बढेसँगै सवारी नाका र पार्किङस्थलमा थप ट्राफिक प्रहरी परिचालन गरिएको उपत्यका ट्राफिक प्रहरी कार्यालयले जनाएको छ।

कार्यालयका प्रमुख एवं प्रहरी वरिष्ठ उपरीक्षक नवराज अधिकारीले यात्रुहरूको सहजता र सुरक्षाका लागि हेल्प डेस्क, सवारी अनुगमन टोली र आपतकालीन उद्धार टोली सक्रिय रहेको जानकारी दिए। उनका अनुसार ट्राफिक प्रहरी २४ घण्टा सडकमा खटिएको छ।

यसैगरी, दशैँको यस अवधिमा उपत्यकामा ७२ हजार ४१ सवारीसाधनबाट दुई लाख ८५ हजार ३०८ जना भने भित्रिएका छन्।