दशैँ मनाउन वृद्धाश्रमबाट आफन्तको बाटो कुरिरहेका मंगलदास

देशभर दशैँको पारिवारिक उल्लास छाइरहँदा, पशुपति वृद्धाश्रममा ७३ वर्षीय मंगलदास महर्जन भने आफन्तको बाटो हेरेर बसिरहेका छन्।

काठमाडौँ– मुलुक दशैँमय बनेको छ। मानिसहरू शहर–गाउँमा दशैँको उल्लासमा रमाइरहेका छन्। तर काठमाडौँको पशुपति वृद्धाश्रममा आश्रय लिइरहेका नक्सालका मंगलदास महर्जनलाई भने दशैँ उमंगको पर्व होइन, बरु विगतको सम्झना र वर्तमानको पीडाले भरिएको लामा दिन बनेका छन्। उनका लागि परिवारसँग दशैँ मनाउने इच्छा अब सपनाजस्तै भएको छ।

२०६० सालमा श्रीमती पूर्णलक्ष्मी महर्जनको मृत्यु भएयता एक्लिएका उनले परिवारसँग दशैँ नमनाएको २१ वर्ष बित्यो। श्रीमतीको निधनपछि उनको जीवन नै परिवर्तन भएको छ; उनी एक्लिएका मात्र छैनन्, उनको जीवनबाट खुसीका रङहरू पनि हराए। “श्रीमती गएका दिनदेखि दशैँमा परिवारसँग बस्ने रमाइलो सकियो। अहिले दशैँ आउँदा त्यो सम्झनाका कारण आँसु मात्र आउँछ,” उनले मलिन स्वरमा भने।

२०१० सालमा काठमाडौँको नक्सालमा जन्मेका मंगलदास अहिले ७३ वर्षका भए। ३० वर्षको उमेरमा विवाह गरेका उनको श्रीमती पूर्णलक्ष्मीसँगको जीवन सुखमय थियो। ३७ वर्षको उमेरमै श्रीमतीको लिभर क्यान्सरका कारण निधन भएपछि उनको जीवनको लय नै बिथोलिदियो।

उनका अनुसार नक्सालमै १० फुटको सानो घर थियो, जसमा उनी, बुबाआमा र दुई भाइको परिवार सँगै बस्दथे। पछि परिवार छुट्टिँदै गए। बुबाआमाको निधनपछि थाहा भयो– उनीहरूले घरजग्गा कान्छा भाइको नाममा बनाइदिएका रहेछ। अहिले त्यो घर भत्काएर पाँचतले ठूलो भवन बनेको छ, तर त्यहाँ मंगलदासलाई बस्ने ठाउँ छैन। “भाइभतिजाले राम्रो व्यवहार गर्दैनन्, त्यहाँ अब मेरो कुनै अंश छैन, बस्ने ठाउँ नै छैन,” उनी भन्छन्।

null

कक्षा ५ सम्म पढेका उनले सिकर्मी र डकर्मीको काम गरेर परिवार पाल्थे। श्रीमती गएपछि दाजुभाइले पनि हेरेनन्। छोराले हेर्ने अवस्था नै थिएन। हातमा सम्पत्ति र आफन्तकहाँ आश्रय नपाएपछि उनी एक्लै भौँतारिनुपरेको थियो।

"टोलका मान्छेहरूले 'किन एक्लै भौँतारिनुहुन्छ, बरु वृद्धाश्रम जानु' भन्न थाले। मेरो पनि जाने कुनै ठाउँ थिएन। त्यसैले दुई वर्षअघि आश्रयको खोजीमा यहाँ आइपुगेँ,” उनले सुनाए।

मंगलदासका दुई सन्तान छन्। अहिले ३२ वर्षका भएका उनका छोरा सानैदेखि लागूऔषधमा फसेकाले उनको आफ्नै बस्ने-खाने टुङ्गो छैन। उनी विवाहित भए पनि श्रीमतीसँग सम्बन्ध विच्छेद भइसकेको छ।

छोरा कहिलेकाहीँ आउँछन्, तर लागूऔषधका लागि पैसा माग्छन्। “त्यो देखेर मन दुख्छ। न त आफ्नो घरजम गर्न सक्यो न त केही जोड्न सक्यो। बुढो बाउसँग पैसा माग्छ। नराम्रो लाग्छ, तर के गर्ने? यस्तै रहेछ भनेर चित्त बुझाउँछु,” उनी भन्छन्।

null

उनका छोरा कहाँ, के गर्छन्, कसरी बाँचेका छन् भन्ने केही थाहा छैन। उनीसँग न त छोराको फोन नम्बर छ न त ठेगाना नै।  उनका नाति भने भर्खरै ८ कक्षामा पढ्छन् र कहिलेकसो उनलाई भेट्न आउँछन्। त्यही भेटले उनलाई अलिकति सान्त्वना दिन्छ।

छोरीको कथा पनि फरक छैन। बागबजारमा घरजम गरेकी छोरीसँग उनको बोलचाल छैन। अन्तरजातीय विवाह गरेपछि छोरी आफैं टाढिएको उनी बताउँछन्। “छोरीले नै हो बोलचाल बन्द गरेको,” उनी बताउँछन्।

आज उनलाई यही वृद्धाश्रम नै आफ्नो घर लाग्छ। यहाँ उनीजस्तै अरू पनि छन्, जसका कथाहरू फरक भए पनि पीडा उस्तै छ। "घर नभएपछि यहीँ रमाइलो लाग्दो रहेछ। मेरा लागि यही घर हो," उनी भन्छन्।

दशैँ भित्रिँदै गर्दा उनको मनमा एउटा झिनो आशा पलाउँछ— कतै छोरा वा नाति लिन आउँछन् कि! श्रीमती बितेदेखि परिवारसँग बसेर दशैँ नमनाएका उनलाई मनमा छोरा–नाति वा आफन्त आएर दशैँमा सँगै लइदिए हुन्थ्यो जस्तो लाग्छ। 

गएको साल सानीआमाको हातबाट टीका लगाएका थिए, तर यसपालि त्यो पनि टुंगो छैन। कसैले फोन गरेका छैनन्, कोही लिन आएका छैनन्। यही कुराले उनको मन पोल्छ र दशैँ खल्लो लाग्छ।

“श्रीमती र छोराछोरी बसेर सँगै दशैँ मनाएको, सानो छँदा पिङ खेलेको याद आउँछ। परिवारमा भएजस्तो कहाँ हुन्छ र दशैँ! जहिले दशैँ आउँदा परिवार सम्झिन्छु, त्यसै आँसु आउँछ,” आँखाभरि आँसु पार्दै उनले भने।