बसको ठक्करबाट बैतडीमा एकको मृत्यु, विरोधमा राजमार्ग अवरुद्ध

बसको ठक्करबाट बैतडीमा एक महिलाको मृत्यु भएको छ। घटनाको विरोधमा मृतकका आफन्त र स्थानीयले राजमार्ग अवरुद्ध गरेका छन्।

बैतडी–  बसको ठक्करबाट मंगलबार बैतडीमा एक महिलाको मृत्यु भएको छ। 

दशरथचन्द नगरपालिका–२ देहिमाडौँस्थित निंगलाशैनी मन्दिरमा लागेको जात्रा हेरेर फर्किने क्रममा बसको ठक्करबाट वडा नं १ गुरूखोला निवासी ३३ वर्षीया भागरथी लुहार को मृत्यु भएको हो।

जात्राबाट फर्किने क्रममा दशरथचन्द राजमार्गअन्तर्गत गुरुखोलामा महाकाली यातायातको सु.प.प्र. ०२००१ ख १०१७ नम्बरको बसले उनलाई ठक्कर दिएको थियो। उनको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रमुख तथा प्रहरी नायब उपरीक्षक (डीएसपी) दीपककुमार रायले जानकारी दिए।

घटनाको विरोधमा मृतकका आफन्त र स्थानीयले राजमार्ग अवरुद्ध गरेका छन्। अहिले सहमति जुटाउन प्रहरी निरीक्षक बलराम पाण्डेयको नेतृत्वमा टोली घटनास्थल पुगेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ।