मनसुनी गतिविधि थप सक्रिय हुने, सावधानी अपनाउन अनुरोध

बंगालको खाडीबाट विकसित भएको न्यूनचापीय प्रणालीका कारण नेपालमा असोज १७ गतेदेखि मनसुन थप सक्रिय भई देशका धेरै ठाउँमा वर्षा हुनेछ।

काठमाडौँ– जल तथा मौसम विज्ञान विभागले मनसुन थप सक्रिय हुने जानकारी दिँदै सावधानी अपनाउन अनुरोध गरेको छ।

बंगालको खाडीबाट विकसित भएको न्यूनचापीय प्रणालीका कारण नेपालमा असोज १७ गतेबाट मनसुन थप सक्रिय भई देशका धेरै ठाउँमा वर्षा हुने जानकारी गराएको हो। 

देशका विभिन्न भूभाग खास गरी कोशी, मधेश, बागमती, गण्डकी र लुम्बिनीसम्म मनसुनी गतिविधि सक्रिय हुने सम्भावना रहेको विभागकी मौसमविद् बिनु महर्जनले बताइन्। उनले भनिन्, “तर बंगालको खाडीमा विकसित न्यूनचापीय प्रणाली भारतको ओडिसाबाट जमिनको भूभाग हुँदै मध्य भारततर्फ क्रमशः सर्ने भएको छ। त्यो नेपालमा प्रवेश गर्न लागेको र यही १७ गते यहाँ आइपुग्ने हुँदा मनसुन थप सक्रिय हुने सम्भावना छ।”

 नेपालमा यस वर्षको दशैँ अवधिभर मनसुनी वायुको प्रभाव रहिरहने उनको भनाइ छ। असोज १७ (एकादशी)मा कोशी, बागमती, गण्डकी र लुम्बिनीका एक–दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको छ।

असोज १८ गते कोशी, मधेश, बागमती, गण्डकी र लुम्बिनीका थोरै स्थानमा भारीदेखि धेरै भारी वर्षाको सम्भावना छ।

यसैगरी, असोज १९ गते कोशी, मधेश, बागमती र गण्डकीका थोरै स्थानमा भारीदेखि धेरै भारी वर्षा र एक–दुई स्थानमा अतिभारी वर्षा हुने विभागले जनाएको छ।

वर्षाका कारण भूक्षय, बाढी, पहिरोका साथै  सडक तथा हवाई यातायातसमेत प्रभावित हुन सक्नेछ। मौसमको अद्यावधिक जानकारी लिई आवश्यक सतर्कता अपनाउन विभागले अनुरोधसमेत गरेको छ।