जाजरकोटमा जिप दुर्घटना: १ जनाको मृत्यु, ३ घाइते

घाइतेमध्ये दुई जनालाई नेपालगन्ज र एक जनालाई रुकुम पश्चिमको आठबिसकोट नगर अस्पताल पठाइएको प्रहरीले जनाएको छ।

काँक्रविहार– जाजरकोटको नलगाड नगरपालिका–५ कालिमाटीबाट पोख्रातिर गइरहेको जिप दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ। तीन जना घाइते भएका छन्।

बुधबार बिहान कर्णाली प्रदेश ०२००१च१२५५ नम्बरको जिप पोख्रामा दुर्घटना हुँदा नलगाड नगरपालिका–५ बाट पोख्राका २२ वर्षीय निसान वलीको मृत्यु भएको हो।

दुर्घटनामा घाइते भएका उनको उपचारका लागि अस्पताल लैजाँदै गर्दा बाटोमा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय जाजरकोटका डीएसपी वसन्त कुमार शर्माले जानकारी दिए। 

दुर्घटनामा सोही ठाउँका रविन्द्र वली, हिरालाल कुसारी र दिपेश वली घाइते भएका छन्। घाइतेमध्ये दुई जनालाई नेपालगन्ज र एक जनालाई रुकुम पश्चिमको आठबिसकोट नगर अस्पताल पठाइएको प्रहरीले जनाएको छ।