ब्रह्मायणी जात्रामा भक्तजनको भीड

ब्रह्मायणी मन्दिरमा त्रिपुरा सुन्दरी प्रकट हुने जनविश्वासअनुरूप परम्परादेखि नै विजयादशमीको दिन यहाँ भव्य मेला लाग्ने गर्छ।

ब्रह्मायणी जात्रामा भक्तजनको भीड
फाइल तस्वीर

भक्तपुर– प्रत्येक वर्ष विजयादशमीको दिन भक्तपुरको ब्रह्मायणी मन्दिरमा लाग्ने जात्रामा रातिदेखि नै दर्शनार्थीको भीड लागेको छ।

नवदुर्गा शक्तिपीठका रूपमा मानिने ब्रह्मायणी मन्दिरमा त्रिपुरा सुन्दरी प्रकट हुने जनविश्वासअनुरूप परम्परादेखि नै विजयादशमीको दिन यहाँ भव्य मेला लाग्ने गर्छ। रातिदेखि परेको वर्षाको समेत प्रवाह नगरी स्थानीय नेवार समुदायले रातिबाट नै भव्य रूपमा ब्रह्मायणी जात्रा मनाइरहेका छन्।

आज बिहानैदेखि व्रत बसेकाहरू घरदेखि मन्दिरसम्म घस्रिँदै, पल्टिँदै र शरीरमा पाँच, सात र १८ वटा दीप (दियो) बालेर ब्रह्मायणी मन्दिर जाने र पूजा गर्ने प्रचलन छ। सोहीअनुसार यहाँका बासिन्दाले शरीरमा बत्ती बालेर र शरीर नापेर ब्रम्हायणीसम्मको यात्रा पूरा गरेका छन्। यो परम्पराले मनोकांक्षा पूरा हुने, धर्म प्राप्त हुने जनविश्वास रहेको छ। 

मन्दिरमा आज नवदुर्गा प्रकट हुने विश्वासका साथ दिनभरी नै भव्य मेला लाग्ने गर्छ भने नेवार समुदायले मोहिनी नखः गरी घरघरमा कालो टीका लगाएपछि प्रत्येक घरबाट पूजा लिएर मन्दिर जानै पर्ने परम्परा छ। 

ब्रह्मायणी मन्दिरमा पूजा गर्न भक्तपुर, मध्यपुरथिमि, ताथली, सुडाल, बागेश्वरी, चित्तपोल, सिपाडोल, नंखेल, गुण्डुलगायत काभ्रे, ललितपुर र काठमाडौँदेखिका भक्तजन आउने गर्छन्। मन्दिरमा जमरा, हाँसको फूल, हाँस, बोका, कुखुराको भालेको बलीसमेत दिने गरिन्छ।