केन्द्रीय कारागारबाट भागेका कैदीबन्दीलाई भेट्टाएपछि सैनिकहरूले भनेका थिए– ‘जान दे’

‘बीच बाटोमै सेनाले भेटेपछि एक डेढ घण्टा घुँडा टेकाएर राख्यो। हामीले जेलमा बस्दा ज्यानको सुरक्षा नभएर निस्किएको भनेपछि ‘जान दे, हजारौँ कैदी त गए, यी ३–४ जनालाई पक्रेर के हुन्छ?’ भनेर छाडिदियो।’

डिल्लीबजार कारागारबाट निस्कन खोजेका कैदीबन्दीलाई नियन्त्रण गर्दै नेपाली सेना। फाइल तस्वीर

काठमाडौँ– गत भदौ २४ गते जेन–जी आन्दोलनका क्रममा भड्किएको हिंसा, त्यस क्रममा भएका उग्र प्रदर्शन, तोडफोड र आगजनीको निशानामा कारागार कार्यालय पनि परे। नक्खु कारागारमा तोडफोड र आगजनीपछि त्यहाँबाट राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने बाहिर निस्किएसँगै देशभरका कारागारबाट कैदीबन्दी धमाधम निस्किए।

देशभरबाट करिब १४ हजार कैदीबन्दी भागे। त्यो दिन केन्द्रीय कारागारबाट निस्केका एक भाइनाइकेले त्यस दिन के के भएको थियो? उनी कसरी कारागारबाट निस्किए? निस्कँदा सडकमा के भइरहेको थियो? भेटिएका सैनिकले के भने? लगायतबारे हाम्रा सहकर्मी निराजन त्रिपाठीसँग यसरी खुलाएः

२४ गते मध्याह्न सेन्ट्रल जेल सुन्धाराको चौरमा कैदीबन्दीबीच फुटबल म्याच भइरहेको थियो। जेल परिसरमै अरू कैदीबन्दी यताउता डुलिरहेका थिए। अघिल्लो दिन (भदौ २३ गते) को जेन–जी आन्दोलनले गर्दा त्यस दिन कैदीबन्दीहरूलाई अरू दिन जस्तो काम गर्न भने दिइएको थिएन।

‘सबै टीभी च्यानल बन्द गर्दे।’ नक्खु जेल फोडियो, कैदीबन्दी बाहिर निस्किसके भन्ने खबर पाउनसाथ हाम्रा चौकीदारले नाइकेलाई आदेश दिए। टीभी च्यानल बन्द भए पनि फुटबल म्याच भने चलिरह्यो। 

एकैछिनमा डिल्लीबजार जेल पनि ब्रेक भयो भन्ने हल्ला चल्यो। चौकीदार आत्तिए। अनि ‘नम्बर भयो भन्दे’ भनेर उनले अर्को आदेश दिए।

यस्तै २–३ बजेतिर नम्बर भयो। सेन्ट्रल जेलमा कैदीबन्दीलाई १ देखि ९ नम्बरसम्मको ब्लकमा राखिएको छ। नम्बर खुलेपछि कैदीबन्दी जेलबाट बाहिर निस्कन पाउँछन्। ‘नम्बर भयो’ भनेपछि उनीहरू सबै आ–आफ्नो नम्बरको ब्लकमा गएर आफ्नै बेडमा बस्नुपर्छ। यो जेलको नियम नै हो। 

४ बज्नै लागेको थियो, जेलको ढोकामा एक्कासि ढुंगामुढा भएको र सिसाको बोतल फुटाएको आवाज आयो। अनि होहल्ला शुरू भयो। गेटमा आन्दोलनकारी आइसकेका रहेछन्। जेलभित्रका सबै झ्यालढोका बन्द गरियो। चौकीदारले भाइनाइकेसहित सबैलाई हलचल नगरी आ–आफ्नो बेडमा बस्न आदेश दिए, चौकीदार र नाइके मात्र यताउता जान पाउँथे। 

होहल्ला अझ ठूलो हुँदै गयो। प्रहरीले आन्दोलनकारीलाई धेरैबेर पकडमा राख्न सकेन। करिब साढे ४ बजे नै केही प्रहरी त्यहाँबाट भागिसकेका थिए। भाग्न नसकेका १०–१२ प्रहरीलाई जेलको ढोका खोलेर कैदीबन्दीले नै भित्र लगेर सुरक्षित राखे।  

त्यसको करिब आधा  घण्टापछि आन्दोलनकारीको टोली त्यहाँबाट हिँडेको थियो। त्यहीबेला यहाँ फसेका प्रहरीलाई कैदीबन्दीले भगाइदिए। तर केही समयपछि आन्दोलनकारीको समूह फेरि जम्मा भएर तोडफोड गर्न थाल्यो। सेन्ट्रल जेल प्रहरीविहीन बनिसकेको थियो। त्यहाँका कैदीबन्दी भने सबै भित्रै थिए। 

जेलमा प्राय: पौने ८ वा ८ बजेतिर खानाको लागि नम्बर खुल्ने चलन छ। नम्बर  खुलेपछि सबैले आ–आफ्नो नम्बरको भान्सामा गएर खाना खानुपर्छ। त्यो दिन धेरैजसो कैदीबन्दीलाई आ–आफ्नै बेडमा खाना लगियो। कतिलाई भाइनाइकेले १०–१२ जनाको समूहमा खाना खाने ठाउँसम्म लैजाने अनि पुनः जेलमै ल्याउने गरे। साढे ७ बजेसम्म सबैले खाना खाइसकेका थिए। 

त्यहीबीच भद्र जेलतिरबाट डाङ्डुङ् आवाज आउन थाल्यो । ‘भद्र जेल फोडे, सबै भागे’ भन्ने हल्ला सेन्ट्रल जेलभरि फैलियो। गोली पड्किएको आवाज पनि आयो। तुरुन्तै ‘नम्बर भयो’ भनियो, सबै कैदीबन्दी आ–आफ्नो बेडतर्फ लागे। चौकीदारले एक अर्कासँग बोल्न प्रतिबन्ध लगाए। त्यसको रेकी गर्न हरेक ब्लकमा ३–४ जना भाइनाइके खटिए। सेन्ट्रल जेलमा पनि माहोल बिग्रन सक्छ भनेर नाइकेहरू जुत्ता लगाई हातमा फलामको रड बोकेर तयारी अवस्थामा बसे।

यति हुँदा पनि राति ९ बजेसम्म सेन्ट्रल जेलको माहोल शान्त थियो।  

त्यसपछि भने गेट भत्काएर आन्दोलनकारी भित्र छिरे। जेलरले चौकीदारलाई फोन गरेर ‘हामीले सकेनौँ, अब आफ्नो ज्यान बचाउन जे गर्नुहुन्छ गर्नुहोस्’ भनेर खबर गरे। चौकीदारले 'जान इच्छुक कैदीबन्दीलाई पठाइदिए हुन्छ' भन्ने आदेश नाइके र भाइनाइकेहरूलाई दिए। अनि ‘ढोका खोलिदिएका छौँ, जान इच्छुकहरू आ–आफ्नो ब्याग प्याक गरेर रेडी भएर बस्नू, हल्ला गर्ने, झगडा गर्ने काम नगर्नू’ भन्ने घोषणा गरियो।

सामान प्याक गरेर कैदीबन्दीहरू आ–आफ्नो ब्लकमा तयार भए। अनि लाइन लागेर पालैपालो आ–आफ्नो नम्बर अनुसार बाहिर निस्किए। नाइके, भाइनाइकेहरू भने जाने कि नजाने दोधारमा थिए। बिस्तारै नाइके, भाइनाइकेहरू पनि बाहिर निस्कन थाले। चौकीदार भने जेलबाट ननिस्कने अडान लिएर बसेका थिए। करिब आधा घण्टा, ४५ मिनेटभित्र सबैजसो कैदीबन्दी बाहिर निस्किए। 

बाहिरको स्थिति के छ, केही थाहा थिएन। कतै गोली पो चल्ने हो कि, ज्यानकै खतरा पो हुने हो कि भन्ने डर पनि थियो। सबै ब्लकका अधिकांश कैदीबन्दी बाहिर निस्किसकेका थिए, जेलभित्र पनि ढुक्क हुने अवस्था थिएन। आन्दोलनकारी आएर आगो लगाइदिने हुन् कि भन्ने डर थियो। जेलमै झगडा भयो भने कसले नियन्त्रण गर्ने भन्ने कुरा पनि मनमा खेलिरह्यो।  

'रवि (लामिछाने) त गयो, म किन बस्ने' भन्ने सोचेर त्यसपछि म पनि निस्किएँ। सँगै ३–४ जना साथी पनि थिए। बाहिर निस्किएर सुन्धारा एक राउन्ड घुम्यौँ। कतै प्रहरी छन् कि भन्ने डर थियो। तर सबैतिर खालि खालि देखियो। प्रहरी कतै थिएनन्। अलि परबाट मोटरसाइकलहरू आउँदै थिए। एउटा मोटरसाइकलवालाले प्रहरीको ड्रेस लगाएको थियो। हामी प्रहरी हुन् कि भनेर झस्कियौँ। 

नजिकै आएर उनीहरूले सोधे, “कहाँबाट आएको भाइहरू, भद्र कि सेन्ट्रलबाट?”  

हामीले 'सेन्ट्रल'बाट भन्यौँ। 

“ल बधाई छ भाइहरू, दशैँको शुभकामना। केही समस्या छैन, एकजना प्रहरी भेट्नुहुन्न, आनन्दले जानुहोस्,” उनीहरूले भने। 

ढुक्क भएर हिँड्दै थियौँ, हामीलाई आर्मीले बीच बाटोमै भेट्यो। त्यसपछि एक डेढ घण्टाजस्तो घुँडा टेकाएर राख्यो। हामीले जेलमा बस्ने स्थिति नभएको, ज्यानको सुरक्षा नभएकोले यसरी सबै निस्किएको भन्यौँ। शायद उनीहरूको कमान्डर होला, ‘जान दे, जान दे। यत्रो हजारौँ कैदी त गए, यी ३–४ जनालाई पक्डेर के नै हुन्छ’ भन्दै हामीलाई छाडिदियो।

त्यो रात एकजना साथीको घरमा गएर बस्यौँ। त्यति बेलासम्म यो सब सपना जस्तै लागिरहेको थियो। अब के गर्ने? जेलबाट भागेर ठिक गरियो कि गरिएन? भोलि फेरि गाह्रो पर्ने हो कि? हामीले रातभर यस्तै छलफल गरेर बितायौँ।

अहिलेसम्म जेल फर्किने कि नफर्किने भनेर सोचिसकेको छैन।