पुनर्बसोबासमा नपरेका करिब ६ हजार ५०० भूटानी शरणार्थीमाझ यसपटक पनि बडादशैँ आएको छ। तर विजय र उत्सवको चाडभन्दा बढी उनीहरू अन्योल, निराशा र अनिश्चित भविष्यसँगै बाँचेका छन्।
दमक– भुटानी शरणार्थी बस्ती व्यवस्थापन समितिका सचिव सन्चहाङ सुब्बाको बेलडाँगीस्थित झुप्रोमा शुक्रबार बिहान अप्रत्याशित पाहुना आइपुगे।
‘कि शरण कि मरण’ भन्दै बडादशैँको एकादशी साइतमा आएका ती पाहुना थिए– अमेरिकाबाट भुटान डिपोर्ट गरिएका ३१ वर्षीय कुमार विष्ट।
“म अमेरिकाको नेब्रास्का हुँदै दुई महिनाअघि भुटान पुगेँ। तर त्यहाँबाट पनि निकालिएपछि झापाको गोलधापतिर आफन्तकहाँ बसेको थिएँ,” कुमारले भने, “अब मलाई यहीँ शिविरमा बस्न मन छ। मिल्छ कि मिल्दैन भनेर बुझ्न सचिवकहाँ आएको हुँ।”
झापाको गोलधाप क्याम्पमै जन्मे/हुर्केका कुमार आमाबाबुसहित पुनर्वास कार्यक्रमअन्तर्गत अमेरिका पुगेका थिए। उनी स्थानीय एक अमेरिकीसँग झगडा परेको आरोपमा पक्राउ परे। त्यसपछि उनलाई प्रहरीले ८ महिनासम्म जेलमा राख्यो र अन्ततः डिपोर्ट गरियो।

‘त्यसो हुनुमा अरू कारण थिएन, ग्रिनकार्ड नवीकरण हुन ढिलाइ भएको भन्दै मलाई थुनामा हालिएको थियो’,बेलडाँगी शिविरमा भेटिएका उनले सुनाए, “अनि पछि डोनाल्ड ट्रम्प सरकारको कडाइ नीतिमा परेर म गत अगस्ट पहिलो सातामा अमेरिकाबाट भुटान डिपोर्ट भएको थिएँ ।”
“त्यसो हुनुमा अरू कुनै कारण थिएन,” कुमारले सुनाए, “ग्रिनकार्ड नवीकरणमा ढिलाइ भएको भन्दै मलाई थुनामा राखियो। पछि डोनाल्ड ट्रम्प सरकारको कडाइ नीतिअन्तर्गत गत अगस्टको पहिलो साता अमेरिकाबाट भुटान डिपोर्ट भएँ।”

भुटानबाट गोजीमा २० हजार भारु राखिदिएर भारत हुँदै नेपाल छिर्न बाध्य पारिएको उनले सुनाए। त्यसपछि उनी गोलधाप छेउमा आफन्तकहाँ शरणागत भएका रहेछन् । “बाहिर निस्क्यो भने प्रहरीले पक्राउ गर्छ, दैनिक फाइन तिराउँछ भनेर बसिरहेको थिएँ,” उनले भने, “अब भने आफन्त रहेको शिविरमा बस्नुपर्यो भन्दै यहाँ आएको हुँ।”
बडादशैँको साइत पारेर शिविर आइपुगेका कुमारलाई सचिव सुब्बाले पनि उत्ति निराश बनाएनन्। विगतमा पनि यसरी अमेरिकाबाटै डिपोर्ट भएका केही शरणार्थी हाल शिविरमै रहेको बताउँदै बसोबासका लागि एउटा कोठा खोज्न सकिने बताए।
“यो त जोगीका घरमा सन्न्यासी पाहुना भनेजस्तै भयो,” सचिव सुब्बाले सुनाए, “नेपाल सरकारले तोकेको र भनेको नियममा हामी पनि यहाँ शरणागत छौँ, तपाई यहाँ आउनुभएको बारे सरकारलाई जानकारी दिनुपर्ने हुन्छ।” त्यसपछि शिविरमा बस्ने कि नबस्ने भन्ने दोधार हुँदै कुमार बाहिरिए।
पुर्नबसोबासमा नपरेका वा तेस्रो देश जान नचाहेका झन्डै ६ हजार ५०० भुटानी शरणार्थीमाझ आफूले इतिहासदेखि मान्दै आएको बडादशैँ पर्व उसैगरी आएको छ। तर, विजय र उत्सवको चाडभन्दा बढी अन्योल, निराशा र अनिश्चयको भविष्यले शरणार्थी विगतका वर्षभन्दा निराश बनेका भेटिन्छन्।

“अनिश्चय झन् बढेको छ, मेरी श्रीमती र छोरी अस्ट्रेलियामा छन्। उता पारिवारिक मिलनमा जाऊँ भनेर तयारी गरेको पनि ५ वर्ष भइसक्यो,” शरणार्थी प्रतिनिधि एवं कवि दिल भुटानी भन्छन्, “यो अन्योल र अनिश्चयमाझ के दशैँ, के तिहार?”
विशेषतः २०७९ सालको अन्त्यदेखि शुरू भएको नक्कली भुटानी शरणार्थीको प्रकरणयता झापा र मोरङका शिविरमा रहेका शरणार्थीका हकमा पनि सबै कानून प्रतिकुल बनेको छ। जन्म, मृत्यु दर्तादेखि परिचयपत्र नवीकरणसम्मका प्रक्रिया अवरुद्धप्राय छन्। आफ्नै बलबुता र विदेश गइसकेका आफन्तको प्रायोजनमा तेस्रो देश जान चाहने शरणार्थीका हकमा पनि ट्राभल डकुमेन्ट, एक्जिट पर्मिट सहितका प्रक्रिया रोकिएका छन्।
“हामी युद्ध बन्धकझैँ भएका छौँ,” स्थानीय शरणार्थी युवा वीरेन मगर भन्छन्, “सरकारले नक्कली शरणार्थीको समस्या हल गर्ने र कानूनी उपचार खोज्ने भन्दै हामीलाई पनि घर न घाट बनाएको छ।”
नेपालीभाषी भएको र दशैँ–तिहार जस्ता चाडपर्व मनाएकै कारण दक्षिणी भुटानबाट लखेटिएका ल्होत्साम्पाले झापाको बेलडाँगी र मोरङको पथरी–शनिश्चरेमा सधैँझैँ बडादशैँ मनाए पनि चाडबाडको रौनक भने छैन। उता, भुटानी राजा र प्रधानमन्त्रीले सर्वसाधारणलाई बडादशैँको टीका लगाइदिएको दृश्य सामाजिक सञ्जालमा भाइरल बनिरहेको छ।
“यता हामी भने शिविरमा शरण दिइएको हो कि मरण भन्नेबारे पुनर्विचार गर्नुपर्ने अवस्थामा पुगेका छौँ,” उनले भने, “केवल पिता पुर्खाले मान्दै र धान्दै आएको भनेर मात्रै दशैँको स्वागत गरेका छौँ, हाम्रो तन–मन र दिमाग भने पटक्कै खुशी छैन। आखिर चाडबाड नमनाएर पनि के गरौँ?”

Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
