जर्मनीको म्युनिख विमानस्थलमा बिहीबार राति अनेकौँ ड्रोन देखिएपछि उडानहरू तत्काल रोकिएका छन्। यो घटना युरोपका विमानस्थलहरूमा दोहोरिँदै आएको उड्डयन अवरोधको पछिल्लो शृंखला हो।
जर्मनीको म्युनिख विमानस्थलमा बिहीबार राति अनेकौँ ड्रोन देखिएपछि उडानहरू तत्कालका लागि रोकिएका छन्। एक जना प्रहरी प्रवक्ताले शुक्रबार बिहान यो घटना हालै युरोपका विभिन्न मुलुकहरूमा दोहोरिँदै आएका उड्डयन अवरोधहरूको शृंखलामध्ये पछिल्लो भएको बताए।
विमानस्थल प्रशासनले जारी गरेको विज्ञप्तिअनुसार बिहीबार राति म्युनिखबाट प्रस्थान गर्न लागेका १७ वटा उडान स्थगित गरिएका थिए। जसका कारण करिब तीन हजारभन्दा बढी यात्रु प्रभावित भएका छन्। साथै, अवतरणका क्रममा रहेका १५ वटा विमानलाई आपत्कालीन रूपमा स्टटगार्ट, न्युरेमबर्ग, भियना र फ्रान्कफर्टसहितका अन्य शहरमा मोड्नुपरेको थियो।
प्रभावित यात्रुहरूको असुविधा कम गर्नका लागि अस्थायी व्यवस्था स्वरूप विमानस्थलले क्याम्प बेड, कम्बल, पेय पदार्थ र खाजाको सुविधा उपलब्ध गराएको विज्ञप्तिमा उल्लेख छ। यद्यपि, उडानहरू कहिले पुनः सञ्चालनमा आउनेछन् भन्ने विषयमा निश्चित जानकारी दिइएको छैन।
प्रहरी प्रवक्ताका अनुसार, बिहीबार साँझ करिब १९:३० जीएमटीमा र त्यसको एक घण्टापछि पुनः म्युनिख विमानस्थल वरिपरि धेरै व्यक्तिले ड्रोन देखेको बताएका थिए। यस घटनापछि दुवै धावन मार्ग सुरक्षाका कारण करिब एक घण्टासम्म पूर्ण रूपमा बन्द गरिएको प्रहरी प्रवक्ताले जानकारी दिए।
जर्मन अधिकारीहरूले तत्कालै ड्रोन प्रक्षेपण स्थल पत्ता लगाउन खोजीकार्य शुरू गरेका छन्। यस क्रममा प्रहरी हेलिकप्टरसमेत तैनाथ गरिए पनि ड्रोनको किसिम र संख्याबारे हालसम्म कुनै आधिकारिक विवरण प्राप्त भएको छैन।
यो घटना जर्मनीको प्रसिद्ध ओक्टोबर्फेस्ट महोत्सवको अन्तिम सप्ताहन्तअघि भएको हो। विश्वभरबाट दैनिक रूपमा लाखौँ मानिसहरूलाई आकर्षित गर्ने यस पर्वको पूर्वसन्ध्यामा यस्तो घटना हुनुले सुरक्षाप्रति थप चिन्ता बढाएको छ।
युरोपका अन्य मुलुकहरूमा पनि हालै यस्ता घटनाहरू दोहोरिएका छन्। विशेष गरी कोपेनहेगन, ओस्लो र वार्साका विमानस्थलहरूमा पनि ड्रोन देखिएपछि अस्थायी रूपमा सञ्चालन रोकिएको थियो। यसै कारण अहिले जर्मनी उच्च सतर्क अवस्थामा रहेको छ।
पोल्यान्ड र डेनमार्कले यस्ता अवरोधहरूका लागि प्रत्यक्ष रूपमा रुसलाई दोषारोपण गरेका छन्। यसैबीच, युरोपेली संघ (ईयू) का २७ सदस्य राष्ट्रका प्रतिनिधिहरू बिहीबार कोपेनहेगनमा भेला भई सम्भावित हवाई खतराबाट बच्न ‘ड्रोन पर्खाल’ निर्माण गरेर सुरक्षा सुदृढ गर्ने विषयमा छलफल गरेका थिए।
गत साताभरि जर्मनीका विभिन्न भागमा सैन्य तथा औद्योगिक स्थलगत क्षेत्रमा समेत ड्रोनको झुन्ड देखिएको रिपोर्ट सार्वजनिक भएपछि अधिकारीहरूले बढ्दो ड्रोन खतराबारे स्पष्ट चेतावनी दिएका छन्।
यसै सन्दर्भमा जर्मनीका गृहमन्त्री अलेक्जान्डर डोब्रिन्डले भने, “हामी हाइब्रिड स्वरूपको नयाँ खतरासँग जुधिरहेका छौँ। यसलाई सामना गर्न अब नयाँ प्रकारका उपाय र प्रतिक्रियाहरू खोज्न अपरिहार्य छ। आवश्यक परे हाम्रो हवाई क्षेत्रमा प्रवेश गर्ने सम्भावित ड्रोनहरूलाई खसाल्ने कार्यान्वयन पनि गर्नुपर्ने हुनसक्छ।”
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
