भागेका कैदीबन्दीलाई आश्रय दिनेलाई पनि कारबाही

कारागार कार्यायल नवलपरासीले भागेका कैदीबन्दीलाई कसैले पनि आफ्नो घरमा लुकाउन वा आश्रय नदिन अनुरोध गरेको छ।

फाइल तस्वीर

नवलपरासी (बर्दघाट सुस्ता पश्चिम)– भागेका कैदीबैन्दीलाई आश्रय नदिन कारागार कार्यालय नवलपरासीले अनुरोध गरेको छ।

गत भदौ २३ र २४ गतेको जेनजी आन्दोलनपश्चात् भदौ २५ गते नवलपरासी कारागारबाट ५४६ कैदीबन्दी भागेका थिए। उनीहरूमध्ये केही कैदीबन्दी कारागारामा फिर्ता (हाजिर) भइसकेका छन्। 

कारागार कार्यालयका जेलर विकल श्रेष्ठका अनुसार, भागेका कैदीबन्दीलाई कसैले पनि आफ्नो घरमा लुकाउन वा आश्रय नदिन अनुरोध गरिएको छ। श्रेष्ठले आश्रय दिएको वा लुकाएको पाइएमा उनीहरूलाई समेत कसुरदार मानेर कारबाहीको प्रक्रिया अगाडि बढाइने बताए।

हाजिर नभएका कैदीबन्दीको हकमा कारागार कार्यालयले असोज २० गतेसम्म हाजिर हुनलाई अनुरोध गरेको श्रेष्ठले बताए। “असोज २० गतेसम्म हाजिर नहुने कैदीबन्दीलाई कारागार ऐन, २०७९ र प्रचलित कानुन बमोजिम कारबाही हुनेछ,” उनले भने।

नवलपरासी कारागारबाट भागेका कैदीबन्दीमध्ये पुरुष २१९ र महिला ३२ जना गरी सम्म २५१ जना हाजिर भइसकेको उनले जानकारी दिए।