देशभर मौसम प्रतिकूल: लामो र रात्रिकालीन यात्रा नगर्न आग्रह

गृह मन्त्रालय र विभिन्न जिल्ला प्रशासन कार्यालयहरूले केही दिन भारी वर्षा, पहिरो र हिमपातको जोखिम रहेको भन्दै अत्यावश्यक नपरी लामो/रात्रिकालीन यात्रा नगर्न, नागढुंगा-मुग्लिनलगायतका सडकमा सावधानी अपनाउन आग्रह गरेका छन्।

काठमाडौँ– देशभरको मौसम प्रतिकूल बन्दै गएको र जोखिम बढ्नसक्ने अवस्थालाई मध्यनजर गर्दै विभिन्न जिल्ला प्रशासन कार्यालयहरूले सतर्क रहन आह्वान गरेका छन्। शुक्रबारदेखि भारी वर्षा हुने जल तथा मौसम विज्ञान विभागले जानकारी गराएसँगै देशभर सतर्क रहन आग्रह गरिएको हो। 

जिल्ला प्रशासन कार्यालय, काठमाडौँले असोज १७ देखि २० गतेसम्म भारी वर्षा हुने र सोबाट जोखिमपूर्ण स्थानमा बाढी, पहिरो, भू–क्षयजस्ता विपद्जन्य घटना हुन सक्ने भन्दै सतर्कता र सावधानी अपनाउन अनुरोध गरेको छ। 

प्रशासन कार्यालयले अत्यन्त जरुरी नपरी सकेसम्म उक्त अवधिमा लामो दूरीको यात्रा नगर्न तथा काठमाडौँबाट बाहिर जाने र बाहिरबाट काठमाडौँ प्रवेश गर्ने यात्रुलाई रात्रिकालीन समयमा यात्रा नगर्न आग्रह गरेको छ। प्रशासनले विपद्को समयमा तत्काल उद्धार, सहयोग र राहतका लागि सम्पर्क नम्बर पनि उपलब्ध गराएको छ।

कास्कीमा हिमपात र पूर्वतयारी
जिल्ला प्रशासन कार्यालय, कास्कीले शुक्रबारदेखि आगामी सोमबारसम्म चार दिन उच्च हिमाली क्षेत्रमा हिमपातको सम्भावना रहेको जनाएको छ। यो समयमा भारी वर्षा हुने प्रक्षेपणसमेत गरिएको छ।

उच्च हिमाली क्षेत्रमा हिमपातको सम्भावना रहेकाले अन्नपूर्ण, मर्दी लगायतका क्षेत्रको पदयात्रामा नजान पदयात्री तथा पर्यटकलाई आग्रह गरिएको छ। कास्की प्रशासन कार्यालयले गण्डकी प्रदेशको राजधानी पोखरा जोड्ने मुख्य राजमार्ग र अन्य जोखिमयुक्त सडकखण्डमा डोजर, एक्स्क्याभेटर, लोडरलगायतका उपकरण तयारी अवस्थामा राख्न सम्बन्धित निकायलाई अनुरोध गरेको छ।

पृथ्वी राजमार्गको अवस्था
त्यस्तै, चितवन, धादिङ र तनहुँका जिप्रका र प्रहरी कार्यालयहरूले नागरिकलाई रातिमा यात्रा नगर्न अनुरोध गर्दै सूचना निकालेका छन्। सूचनाअनुसार पृथ्वी राजमार्गको कोत्रे–मुग्लिन–नागढुंगा एवं नारायणगढ–मुग्लिन सडकको विभिन्न स्थानहरूमा निरन्तर पहिरो गई समय-समयमा सवारी आवागमन अवरुद्ध हुँदै आइरहेको छ। तीनवटै जिल्लाको संयुक्त पहल र समन्वयमा पहिरो हटाई सवारी आवागमन सुचारु गरिएको छ।

चोभार गल्छीको निरीक्षण
ललितपुरका प्रमुख जिल्ला अधिकारीसहितको टोलीले काठमाडौँ उपत्यकाको पानी निकास हुने एक मात्र ठाउँ चोभार गल्छीको स्थलगत निरीक्षण गरेको छ। स्थलगत निरीक्षणपछि प्रजिअ सुमन घिमिरेले जोखिमयुक्त क्षेत्रका बस्तीका बासिन्दालाई सुरक्षित ठाउँमा गएर बस्न अनुरोध गर्ने बताए। 

जल तथा मौसम विज्ञान विभागले शनिबारदेखि काठमाडौँ उपत्यकामा समेत भारी वर्षाको प्रक्षेपण गरेकाले प्रजिअ घिमिरेको संयोजकत्वमा जिल्ला सुरक्षा समितिका सबै निकायका प्रमुखसहितको टोलीले चोभार गल्छीको निरीक्षण गरेको थियो।

गृह मन्त्रालयको उच्च सतर्कता आह्वान
गृह मन्त्रालयले पनि आगामी असोज १७ देखि २० गतेसम्म पाँच प्रदेशमा मध्यमदेखि भारी वर्षाको सम्भावना रहेको भन्दै उच्च सतर्कता अपनाउन अनुरोध गरेको छ। यसैबीच भारतको मौसम विभागले पनि सीमावर्ती बिहार राज्यसहित छत्तीसगढमा भारी वर्षाको आशंका गर्दै 'रेड अलर्ट' जारी गरेको छ, जसको सीधा असर नेपालका तराई जिल्लामा पर्ने देखिएको छ।

मन्त्रालयले अत्यावश्यक नपरी सकेसम्म घरदेखि टाढा र रातिको समयमा यात्रा नगर्न अनुरोध गरेको छ। जोखिमलाई ध्यानमा राख्दै, जिल्ला विपद् व्यवस्थापन समितिले वर्षा र बाटोको अवस्थाको मूल्यांकन गरी सवारी सञ्चालनमा रोक लगाउनेबारे आवश्यक निर्णय लिने र सो निर्णय पालना गराउने व्यवस्था मिलाउन पनि निर्देशन दिएको छ। बाढी तथा पहिरोको जोखिममा रहेका क्षेत्रका नागरिकहरूलाई उचो र सुरक्षित स्थानबारे जानकारी लिई आवश्यक पर्नासाथ सुरक्षित स्थानमा जान अनुरोध गरिएको छ।

सडक विभागले पनि राति यात्रा नगर्न सुझाउँदै मातहतका सम्पूर्ण कार्यालयका कर्मचारीलाई विपद्प्रतिधार्यकार्यका निम्ति तयार रहन आह्वान गरेको छ । साथै विभागले नागढुंगा–मुग्लिन, मुग्लिन–नारायणगढ सडक, बीपी राजमार्ग, कान्ति लोकपथ, त्रिभुवन राजपथ, दाउन्ने सडकमा यात्रा गर्नेलाई विशेष सतर्कता अपनाउन अनुरोध गरेको छ ।