शनिबार र आइतबार मनसुनी वायु बढी सक्रिय, सोमबारदेखि सुधार

हाल देशभर बंगालको खाडीबाट आएको जलवाष्पयुक्त मनसुनी वायुको प्रभाव रहेको छ। शनिबार बिहानदेखि भने अरब सागर र बंगालको खाडीमा उत्पन्न भएको मनसुनी वायु थप सक्रिय रहने मौसमविद्को पूर्वानुमान छ।

काठमाडौँ– जल तथा मौसम विज्ञान विभागअन्तर्गत मौसम पूर्वानुमान महाशाखाले शनिबार र आइतबार मनसुनी वायु थप सक्रिय हुँदा मुलुकका केही स्थानमा भारीदेखि अति भारी वर्षाको सम्भावना रहेको भन्दै उच्च सतर्कता अपनाउन अनुरोध गरेको छ। महाशाखाले सोमबारदेखि भने मौसममा क्रमिक सुधार आउने जानकारी दिएको छ।

महाशाखाले शुक्रबार साँझ मौसमी बुलेटिन जारी गर्दै आगामी २४ घण्टामा कोशी प्रदेश, मधेश, बागमती र गण्डकीका पहाडी र तराई भू–भागका थोरै स्थानमा तथा लुम्बिनीका तराई भू–भागका एक–दुई स्थानमा भारी वर्षाको पनि सम्भावना रहेको जनाएको छ।

मधेश, बागमती र गण्डकीका पहाडी र तराई भू–भागका एक–दुई स्थानमा धेरै भारी वर्षाको समेत सम्भावना रहेको जानकारी दिएको छ।अरब सागर र बंगालको खाडीमा उत्पन्न भएको मनसुनी वायु शनिबार बिहानदेखि थप सक्रिय हुने मौसमविद्ले पूर्वानुमान गरेका छन्। 

मौसमविद् प्रतिमा मानन्धरका अनुसार, हाल कोशी, बागमती, गण्डकी, र लुम्बिनी प्रदेशका थोरै स्थानमा हल्कादेखि मध्यम वर्षा भइरहेको छ। उनले शनिबार र आइतबार मुलुकका केही स्थानमा भारी वर्षाको सम्भावना रहेको र सोमबारदेखि भने मौसम क्रमिक रूपमा सुधार हुने जानकारी दिइन्। “हाल देशभर बंगालको खाडीबाट आएको जलवाष्पयुक्त हावा (मनसुनी वायुको) प्रभाव रहेको छ,” उनले भनिन्। 

यस्तो छ आगामी तीन दिनको मौसम पूर्वानुमान
महाशाखाका अनुसार शनिबार राति देशभर साधारणतया बदली रहने छ। कोशी, बागमती, गण्डकी, लुम्बिनीका पहाडी र तराई भू–भाग र मधेशका केही स्थानमा तथा बाँकी प्रदेशका पहाडी र तराई भू–भागका थोरै स्थानमा मध्यम वर्षाको सम्भावना रहेको छ। कोशी, मधेश, बागमती, लुम्बिनी र गण्डकीको एक–दुई स्थानमा भारी वर्षाको पनि सम्भावना रहेको महाशाखाले जनाएको छ। 

महाशाखाका अनुसार शनिबार दिउँसो देशभर साधारणतया बदली रहने छ। कोशी, मधेश, बागमती, गण्डकी र लुम्बिनीका पहाडी र तराई भू–भाग धेरै स्थानमा तथा बाँकी प्रदेशका पहाडी र तराई भू–भागका केही स्थानमा मेघगर्जन/चट्याङसहित मध्यम वर्षाको सम्भावना रहेको छ।

कोशी, मधेश, बागमती र गण्डकीका पहाडी र तराई भू–भागका थोरै स्थानमा तथा लुम्बिनी प्रदेशका तराई भू–भागका एक–दुई स्थानमा भारी वर्षाको पनि सम्भावना छ। मधेश, बागमती र गण्डकीका पहाडी र तराई भू–भागका एक–दुई स्थानमा धेरै भारी वर्षाको समेत सम्भावना रहेको छ। 

राति भने कोशी, मधेश, बागमती र गण्डकीमा अधिकांश बदली रही बाँकी प्रदेशमा साधारणतया बदली रहने छ। कोशी, मधेश, बागमती र गण्डकीका पहाडी र तराई भू–भागका अधिकांश स्थानमा, लुम्बिनीका पहाडी र तराई भू–भाग धेरै स्थानमा तथा बाँकी प्रदेशका केही स्थानमा मेघगर्जन/चट्याङसहित मध्यम वर्षाको सम्भावना रहेको छ।

कोशी, मधेश, बागमती र गण्डकीका पहाडी र तराई भू–भागका केही स्थानमा तथा मधेश प्रदेशलगायत लुम्बिनी प्रदेशका तराई भू–भागका एक–दुई स्थानमा भारीदेखि धेरै भारी वर्षाको सम्भावना रहेको छ।

आइतबार दिउँसो भने देशभर साधारणतया बदली रहने छ। कोशी प्रदेश, मधेस प्रदेश, बागमती प्रदेश, गण्डकी प्रदेश र लुम्बिनी प्रदेशका पहाडी तथा तराई भू–भाग धेरै स्थानमा तथा बाँकी प्रदेशका पहाडी र तराई भू–भागका केही स्थानमा मेघगर्जन/चट्याङसहित मध्यम वर्षाको सम्भावना रहेको छ।

कोशी, मधेश, बागमती र गण्डकीका पहाडी र तराई भू–भागका थोरै स्थानहरूमा तथा लुम्बिनी प्रदेशका तराई भू–भागका एक–दुई स्थानमा भारी वर्षाको पनि सम्भावना छ। कोशी, मधेश र बागमतीका पहाडी र तराई भू–भागका एक–दुई स्थानमा धेरै भारी वर्षाको समेत सम्भावना रहेको छ।

आइतबार राति कोशी, मधेश, बागमतीलगायत देशका पहाडी भू–भागमा साधारणतया बदली रही बाँकी भू–भागमा आंशिक बदली रहने महाशाखाले जनाएको छ। कोशी, मधेश, बागमती प्रदेशकालगायत देशका पहाडी भू–भागका केही स्थानहरूमा र बाँकी प्रदेशका पहाडी र तराईका थोरै स्थानहरूमा मेघगर्जन/चट्याङसहित मध्यम वर्षाको सम्भावना रहेको छ। कोशी र बागमतीका पहाडी भू–भागका एक–दुई स्थानमा भारी वर्षा सम्भावना रहेको छ।

शनिबार चार प्रदेशका नदीमा बहाव बढ्न थाल्ने
जल तथा मौसम विज्ञान विभागले शनिबार दिउँसोदेखि मधेश, बागमती, गण्डकी र लुम्बिनी प्रदेशको क्षेत्रका नदीहरूमा बहाव बढ्न शुरू हुने पूर्वानुमान गरेको छ। विभागले शुक्रबारसम्म भने देशका सबै प्रमुख नदीहरूमा जलसतह सामान्य र स्थिर रहेको जानकारी गराएको छ। विभागका बाढीविद् विनोद पराजुलीले शनिबार दिउँसोसम्म सबै प्रमुख नदीहरूमा अवस्था सामान्य नै रहे पनि त्यसपछि भने केही नदीहरूमा पानीको बहाव बढ्न शुरू हुने जानकारी दिए ।

“शनिबार राति नवलपरासी पश्चिम, नवलपरासी पूर्व, तनहुँ, लम्जुङ, गोरखा, धादिङ, चितवन, मकवानपुर, बारा, पर्सा, रौतहट, सर्लाही, काठमाडौँ, भक्तपुर, ललितपुर, काभ्रे, सिन्धुली र आसपासका जिल्लाहरू भई बहने स–साना नदीनालाहरूमा आकस्मिक बाढीको जोखिम रहेको छ,” उनले भने, “आइतबार बिहानदेखि बेलुकीसम्मको अवधिमा नारायणी, कालीगण्डकी, सेती, मादी, मस्र्याङ्दी, दरौँदी, त्रिशूली, पूर्वी राप्ती, बागमती, कमला र आसपासका नदीहरू तथा तिनका शाखा नदीहरूमा बहाव उल्लेख बढ्ने र सतर्कताको तह आसपास पुग्न सक्नेछ ।”

आइतबार रातिदेखि प्रणाली बिस्तारै पूर्वतर्फ सर्दै जाने र कोशी, कन्काईलगायत नदी जलाधारका क्षेत्रमा समेत बहाव उल्लेख्य बढ्न सक्ने पराजुलीले जानकारी दिए। उल्लिखित पूर्वानुमानअनुसार बाढी र डुबान हुन सक्ने, पहिरो जान सक्ने क्षेत्रहरूमा उच्च सतर्कता आवश्यक रहेको उनको भनाइ छ।