बस दुर्घटनाका गम्भीर घाइतेलाई हेलिकोप्टरमार्फत काठमाडौँ ल्याइयो

महोत्तरीमा शुक्रबार भएको यात्रुवाहक बस दुर्घटनाका गम्भीर घाइतेलाई उपचारका लागि नेपाली सेनाको हेलिकोप्टरमार्फत काठमाडौँ ल्याइएको छ।

काठमाडौँ– महोत्तरीमा शुक्रबार भएको यात्रुवाहक बस दुर्घटनाका गम्भीर घाइतेलाई उपचारका लागि नेपाली सेनाको हेलिकोप्टरमार्फत काठमाडौँ ल्याइएको छ।

सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयका अनुसार, महोत्तरीको बर्दिवास नगरपालिका–११, खयरमारामा यात्रुबस दुर्घटना हुँदा दुई जनाको मृत्यु र ४० जना घाइते भएका थिए।

दुर्घटनामा गम्भीर घाइते भएका दुई पुरुष र चार महिलासहित कुल ६ जनालाई गैरसैनिक प्यारामेडिक्ससहित थप उपचारका लागि काठमाडौँ ल्याइएको छ।

यसैगरी, नेपाली सेनाले कर्णाली नदीको चिसापानी खण्डमा माछा मार्ने क्रममा डुबेका एक व्यक्तिको शव शुक्रबार उद्धार गरी नेपाल प्रहरीको जिम्मा लगाएको छ।

सेनाको सुदूरपश्चिम पृतना तालिम शिक्षालय, कैलालीबाट खटिएको फौजले अन्य सुरक्षा निकाय तथा स्थानीयको सहयोगमा ती व्यक्तिलाई मृत अवस्थामा फेला पारेको थियो।