काभ्रेमा भारी वर्षा: बीपी राजमार्गमा सवारी सञ्चालनमा रोक

काठमाडौँबाट जानेलाई काभ्रे भन्ज्याङमा र काठमाडौँ आउने गाडीलाई मंगलटारमा रोकिएको सडक विभागले जनाएको छ।

काठमाडौँ–  काभ्रेपलान्चोकमा भारी वर्षा भएपछि बीपी राजमार्गमा सवारीसाधन सञ्चालनमा रोक लगाइएको छ। 

काठमाडौँबाट जानेलाई काभ्रे भन्ज्याङमा र काठमाडौँ आउने गाडीलाई मंगलटारमा रोकिएको सडक विभागले जनाएको छ। काभ्रेको भकुन्डेबेँसी, धुलिखेल, बनेपामा भारी वर्षा भइरहेकाले सवारी सञ्चालनमा रोक लगाइएको विभागका प्रवक्ता प्रभात कुमार झाले जानकारी दिए। 

यो राजमार्ग भएर दशैँको समय दैनिक करिब १० हजार सवारीसाधन ओहोरदोहोर गर्छन्। देशका विभिन्न स्थानमा शनिबार रातिदेखि नै वर्षा भइरहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।

महाशाखाका अनुसार आज सुनसरी, उदयपुर, सप्तरी, सिरहा, धनुषा, महोत्तरी, सर्लाही, रौतहट, बारा, पर्सा, सिन्धुली, दोलखा, रामेछाप, सिन्धुपाल्चोक, काभ्रेपलान्चोक, काठमाडौँ, ललितपुर, भक्तपुर, मकवानपुर, चितवन र आसपासका जिल्लामा अति उच्च जोखिमको सम्भावना छ।