देशका अधिकांश स्थानमा वर्षा भइरहेको र भारी वर्षा हुने पूर्वानुमान रहेकाले तीन दिन यातायात बन्द गरिएको प्राधिकरणले जनाएको छ।
काठमाडौँ– सरकारले काठमाडौँ उपत्यका भित्रिने र बाहिरिने तथा लामो दूरीका सवारीसाधन तीन दिनका लागि बन्द गरेको छ।
देशका अधिकांश स्थानमा वर्षा भइरहेको र भारी वर्षा हुने पूर्वानुमान रहेकाले तीन दिन यातायात बन्द गरिएको राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले जनाएको छ।
सोमबारसम्म यातायात व्यवसायीलगायत कसैले पनि अत्यावश्यकबाहेक लामो दूरीका तथा काठमाडौँ उपत्यका भित्रने र बाहिरिने सवारीसाधन नचलाउन प्राधिकरणले सूचनामार्फत आग्रह गरेको छ।
“भारी वर्षा तथा अति धेरै भारी वर्षाका कारण आउन सक्ने बाढी, पहिरो र डुबान एवं त्यसबाट उत्पन्न हुने सक्ने सम्भावित विपद् जोखिम न्यूनीकरण गर्न कोशी, मधेश, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका सबै जिल्लाबाट चल्ने लामो दूरीका र काठमाडौँ उपत्यका भित्रिने/बाहिरिने सवारी साधन आवतजावत मिति २०८२ असोज १८, १९ र २० गतेका लागि बन्द गरिएको बेहोरा निर्देशानुसार जानकारी गराइन्छ,” प्राधिकरणका प्रवक्ता शान्ति महतद्वारा जारी सूचनामा उल्लेख छ।
प्राधिकरणले सम्बन्धित जिल्लाका प्रमुख जिल्ला अधिकारी र सुरक्षा निकायलाई सवारीसाधन आवतजावत बन्द गर्न तथा गराउन एवं सोको निरन्तर अनुगमन तथा निगरानी गर्न पनि अनुरोध गरेको छ।
यसैबीच, उपत्यकाबाट बाहिरिएका सवारीसाधन धमाधम उपत्यकामा नै फर्किन थालेका छन्। काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयले विभिन्न राजमार्गमा पहिरो जान थालेपछि सुरक्षित रहन सवारीसाधन उपत्यकामा नै फर्किन थालेको जानकारी दिएको छ।
काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रवक्ता नरेशराज सुवेदीले बीपी, अरनिको, पृथ्वीलगायतका मुख्य राजमार्गमा पहिरो जान थालेपछि उपत्यकाबाट बाहिरिएका सवारीसाधन पनि फर्किन थालेको जानकारी दिए। “अहिले पहिरोका कारण उपत्यकाबाट बाहिरिएका सवारीसाधन पनि काठमाडौँतिर नै फिर्ता भइरहेका छन्, यतिबेला उपत्यकाका चारै तिरका नाका बन्द छन्,” उनले भने, “सुरक्षित तरिकाले सवारीसाधनहरू होल्ड भएका छन्, भौतिक र मानवीय क्षति कम गर्न सडक यात्रा सुरक्षित छैन।”
यता, अविरल वर्षाका कारण त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका आन्तरिकतर्फ उडान स्थगन गरिएका छन्।
प्रतिकूल मौसमका कारण काठमाडौँ, भरतपुर, जनकपुर, भद्रपुर, पोखरा र तुम्लिङटार विमानस्थलमा उडान स्थगित भएको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल कार्यालयका महाप्रबन्धक हंसराज पाण्डेले जानकारी दिए।
कहाँ–कहाँ भइरहेको छ वर्षा?
मौसम पूर्वानुमान महाशाखाका अनुसार मनसुनी वायुको प्रभावका कारण देशका अधिकांश स्थानमा वर्षा भइरहेको छ। विषेश गरी मधेश, बागमती र कोशी प्रदेशका अधिकांश स्थानमा मेघगर्जन र चट्याङसहित वर्षा भइरहेको छ।
महाशाखाका अनुसार वर्षा गराउने प्रणाली पूर्व–उत्तरतर्फ सरिरहेको र ती क्षेत्रमा थप वर्षा हुने सम्भावना छ। शनिबार दिउँसोदेखि कोशी, मधेश र बागमती प्रदेश बढी प्रभावित हुने देखिन्छ।
शनिबार बिहान काठमाडौँमा ६, ललितपुरमा ९.८ र भक्तपुरमा पाँच मिलिमिटर वर्षा भएको महाशाखाले जनाएको छ। पर्सामा १० र रौतहटमा १०.६ मिलिमिटर वर्षा भएको छ। महोत्तरी र धनुषासम्म वर्षा भइरहेको जनाइएको छ। पछिल्लो १२ घण्टामा भने सबैभन्दा बढी कैलालीको गर्भामा ८३.२ मिलिमिटर वर्षा भएको छ। पर्सामा ४० र बारामा २८ मिलिमिटर वर्षा भएको छ।
महाशाखाले आज र भोलि भारीदेखि अति भारीसम्म वर्षा हुने चेतावनी दिइसकेको छ। राति अझ धेरै वर्षा हुने जनाइएको छ।

Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
