त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका आन्तरिक उडान बन्द

प्रतिकूल मौसमका कारण काठमाडौँ, भरतपुर, जनकपुर, भद्रपुर, पोखरा र तुम्लिङटार विमानस्थलमा उडान स्थगित गरिएको छ।

काठमाडौँ– बिहानदेखिको अविरल वर्षाका कारण त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका आन्तरिकतर्फ उडान स्थगन गरिएका छन्।

प्रतिकूल मौसमका कारण काठमाडौँ, भरतपुर, जनकपुर, भद्रपुर, पोखरा र तुम्लिङटार विमानस्थलमा उडान स्थगित भएको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल कार्यालयका महाप्रबन्धक हंसराज पाण्डेले जानकारी दिए।

“मौसमी अवस्थाको पुनरावलोकन भइरहेको छ। अन्तर्राष्ट्रिय उडानहरू भइरहेका छन्। अविरल वर्षाका समयमा उडान गर्न जोखिम हुने भएकाले आन्तरिकतर्फ भने अहिले उडान स्थगन गरिएको छ,” उनले भने।

वर्षाका कारण बिहानदेखि आन्तरिक उडानतर्फका उडान प्रभावित भएका हुन्। काठमाडौँसहित देशभरका विभिन्न ठाउँमा बिहानदेखि लगातार वर्षा भइरहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ।

विभागका अनुसार आज र भोलि भारीदेखि अति भारीसम्म वर्षा हुने चेतावनी दिइसकेको छ। राति अझ धेरै वर्षा हुने जनाएको छ।