महिला टी२० शृंखला: मलेसियामाथि नेपालको जित

मलेसियाको क्वालालम्पुरस्थित बायुमास मैदानमा शनिबार भएको खेलमा नेपालले घरेलु टोलीलाई ६ विकेटले हराएको छ। यससँगै शृंखला १–१ को बराबरीको अवस्थामा पुगेको छ।

काठमाडौँ– अन्तर्राष्ट्रिय महिला टी२० शृंखलाको आफ्नो दोस्रो खेलमा नेपालले मलेसियालाई हराएको छ। 

मलेसियाको क्वालालम्पुरस्थित बायुमास मैदानमा शनिबार भएको खेलमा नेपालले घरेलु टोलीलाई ६ विकेटले हराएको हो। 

मलेसियाले दिएको ९२ रनको लक्ष्य नेपालले १६.२ ओभरमा २ विकेट गुमाउँदै लक्ष्य पूरा गर्‍यो। नेपालका लागि पूजा महतोले सर्वाधिक ३९ रन बनाइन्। त्यस्तै कप्तान इन्दु बर्मा २७ रनमा अविजित रहिन्। रुबी पोद्दारले १५ रन बनाइन्।

मलेसियाकी आयना हमिजाले २ विकेट लिइन्। नुर दानिया स्युहादा र नुर आलियाले समान १ विकेट लिए। 

त्यसअघि टस हारेर पहिले ब्याटिङको निम्तो पाएको मलेसियाले निर्धारित २० ओभरमा ४ विकेट गुमाएर ९१ रन बनाएको थियो। मलेसियाका लागि आइना हमिजाले सर्वाधिक ५० रनको योगदान दिएकी थिइन्। त्यस्तै कप्तान विनिफ्रेड दुरासिंघमले १५ रन बनाइन्।

नेपालकी सोमु विष्टले २ तथा कविता कुँवरले १ विकेट लिए। यससँगै शृंखलामा नेपालले पहिलो जित दर्ता गराएको छ। पहिलो खेलमा नेपाल मलेसियासँग ३ रनले पराजित भएको थियो।

नेपालले आगामी जनवरीमा घरेलु मैदानमा नै हुने आईसिसी महिला टी२० विश्वकप ग्लोबल छनोटको तयारीस्वरुप उक्त शृंखला खेलेको हो।