यस्तो छ मुख्य राजमार्गको अवस्था

चन्द्रागिरिबाट नागढुंगा, गोदाम र टखेल हुँदै धादिङ र मकवानपुरतर्फ बाहिरिने सवारी साधन पनि होल्ड गरिएको छ।

यस्तो छ मुख्य राजमार्गको अवस्था
रासस
मध्यपहाडी लोकमार्गको बागलुङखण्ड

काठमाडौँ– अविरल वर्षाका कारण देशका मुख्य राजमार्ग शनिबार बिहानैदेखि अवरुद्ध भएका छन्। पानी पर्ने क्रम जारी नै रहेकाले प्रमुख राजमार्गमा सवारीसाधन होल्ड गरिएको प्रहरीले जनाएको छ।

काठमाडौँबाट बाहिरिने मुख्य नाका नागढुंगामा बिहानदेखि नै सवारीसाधन रोकिएका छन्। चन्द्रागिरिबाट नागढुंगा, गोदाम र टखेल हुँदै धादिङ र मकवानपुरतर्फ बाहिरिने सवारी साधन पनि होल्ड गरिएको छ। 

कोशी राजमार्ग, मेची राजमार्ग र तमोर करिडोर पनि अविरल वर्षापछि बन्द गरिएका छन्। यस्तै, रसुवास्थित नेपाल र चीन जोड्ने पुल पनि अवरुद्ध नै रहेको छ। पासाङ ल्हामु सडक गोसाईंकुण्ड गाउँपालिकाको तीन स्थानमा बन्द रहेको छ। 

सिन्धुपाल्चोकको चारकिलोमा अरनिको राजमार्ग पूर्ण रूपमा बन्द रहेको छ। अविरल वर्षाका कारण पहिरो र जोखिम बढेपछि सो खण्डमा दुवैतर्फी सवारीसाधन अनिश्चित समयसम्मका लागि होल्ड गरिएको छ। 

सडक अवरुद्ध भएपछि यात्रु अलपत्र परेका छन्। सरकारले तीन  दिनसम्म लामो दूरीका सवारीसाधन सञ्चालनमा रोक लगाएको छ।