चनमतीलाई ९३ वर्षको उमेरमा नागरिकता

पाँचथरको हिलिहाङ गाउँपालिका पिनासीकी ९३ वर्षीया चनमती माझीलाई प्रशासन कार्यालयले घरमै पुगेर नागरिकता प्रदान गरेको छ। उनको देखदेखकाे जिम्मा पालिकाले लिएको छ।

तस्वीर : रासस

पाँचथर– हरेक नेपालीले १६ वर्ष उमेर पूरा भएपछि प्रमाणका आधारमा नागरिकताको प्रमाणपत्र प्राप्त गर्नुपर्ने हो।

नागरिकताको प्रमाणपत्र प्राप्त गर्ने विषय नैसर्गिक अधिकार भए पनि पाँचथरकी चनमती माझीलाई सोही प्रमाणपत्र प्राप्त गर्न ९३ वर्ष पुग्नुपर्‍यो। आवश्यक जानकारी र साथ दिने कोही नहुँदा चनमती नागरिकतावीहिन भइन्। 

हिलिहाङ गाउँपालिका–२ पिनासीकी उनलाई बिहीबार गाउँपालिका अध्यक्ष समरबहादुर अधिकारी, प्रमुख जिल्ला अधिकारी गणेश गैरे सहितको टोलीले घरमै पुगेर नागरिकता प्रमाणपत्र दिएको हो। नागरिकता नहुँदा राज्यबाट पाउने सबै सेवा सुविधाबाट उनी वञ्चित भएको समाचार सार्वजनिक भएपछि प्रशासन र गाउँपालिकाले चासो दिएको थियो। चनमतीकाे अवस्था बुझ्न गत साता जिल्ला प्रशासन कार्यालयको टोली घरमा पुगेको थियो। 

नागरिकता प्राप्त गर्न योग्य व्यक्ति भए पनि नपाएको बुझेपछि प्रशासनले घरमै पुगेर उपलब्ध गराएको प्रजिअ गैरेले बताए। नागरिकताको प्रमाणपत्र के हो ? भन्नेसम्म नबुझेकी चनमतीका श्रीमानको दुई वर्षअघि निधन भएको थियो। सन्तान नभएका कारण गरिबी र छिमेकीको सहायतामै उनले जीवन गुजार्दै आएकी छन्। सामाजिक सुरक्षा भत्तासहित अन्य सरकारी सेवासमेत लिन पाएकी थिइनन्। 

अब सामाजिक सुरक्षा भत्ता आउने थाहा पाउँदा चनमती खुसी छन्। श्रीमानको सामाजिक सुरक्षा भत्ताको सहायताबाट गुजारा चलाउन उनलाई सहज थियो। अहिले उनको जीवन अभावमा गुज्रिरहेको छ। यसैबिच चनमतीकाे रेखदेख गर्ने जिम्मा गाउँपालिकाले लिने भएको छ।

“उहाँको सहज जीवनयापनका लागि आवश्यक काम थाल्ने छौँ”, गाउँपालिकाका अध्यक्ष अधिकारीले भने, “घर निर्माण र रेखदेखको व्यवस्था गर्छौँ।”