विपद् जोखिम: आइतबार र सोमबार बिदा दिने सरकारको निर्णय

गृह मन्त्रालयले वर्षाका कारण बाढी, डुबान, भूक्षय लगायतको जोखिमका साथै सडक तथा हवाई यातायात प्रभावित हुने र मानवीय क्षतिसमेत हुनसक्ने सम्भावनालाई मध्यनजर गरी बिदाको निर्णय गरिएको जनाएको छ।

काठमाडौँ– सरकारले भारी वर्षाको सम्भावनालाई मध्यनजर गर्दै आइतबार र सोमबार (असोज १९ र २० गते) सार्वजनिक बिदा दिने निर्णय गरेको छ। जल तथा मौसम विज्ञान विभाग र राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणबाट प्राप्त चेतावनीका आधारमा गृह मन्त्रालयले शनिबार यस्तो घोषणा गरेको हो।

गृह मन्त्रालयका सहसचिव/प्रवक्ता आनन्द काफ्लेद्वारा जारी सूचनाअनुसार, असोज १८ देखि २० गतेसम्म देशका विभिन्न स्थानमा भारीदेखि अति भारी वर्षाको सम्भावना छ। मन्त्रालयले वर्षाका कारण उत्पन्न हुनसक्ने बाढी, डुबान, भूक्षय लगायतका जोखिमका साथै सडक तथा हवाई यातायात प्रभावित हुने र मानवीय क्षतिसमेत हुन सक्ने सम्भावनालाई मध्यनजर गरी बिदाको घोषणा गरिएको बताएको छ। तर, विपद् व्यवस्थापन र अत्यावश्यक सेवासँग सम्बन्धित कार्यालयलाई भने बिदा नहुने सूचनामा उल्लेख छ।

“वर्षाका कारण उत्पन्न हुनसक्ने बाढी, डुबान, भूक्षय लगायतका जोखिमको साथै सडक तथा हवाई यातायात प्रभावित हुने र मानवीय क्षतिसमेत हुनसक्ने सम्भावनालाई मध्यनजर गरी २०८२ असोज १९ र २० गतेका दिन विपद् व्यवस्थापन र अत्यावश्यक सेवासँग सम्बन्धित कार्यालयहरू बाहेक नेपाल राज्यभर सार्वजनिक बिदा दिने निर्णय भएको,” सूचनामा भनिएको छ। मन्त्रालयले उक्त अवधिभर अत्यावश्यक काम नपरी घरबाहिर ननिस्कन र सुरक्षित स्थानमा रहन अनुरोधसमेत गरेको छ।

null

मौसम विभागका अनुसार शनिबार साँझ ८ बजेदेखि आइतबार बिहान ८ बजेसम्म मुलुकका विभिन्न स्थानमा भारीदेखि अति भारी वर्षाको सम्भावना रहेको छ। विभागका महानिर्देशक कमलराम जोशीले विशेष गरी बागमती, मधेश, गण्डकी र लुम्बिनी प्रदेशमा अति भारी वर्षाको सम्भावना रहेको भन्दै ती क्षेत्रका नदी आसपासका बासिन्दाले विशेष सतर्कता अपनाउन आग्रह गरेका छन्।

“यी प्रदेशहरूमा आज राति १० देखि आइतबार बिहान २ बजेसम्म २०० मिलिमिटरभन्दा बढी पानी पर्ने सम्भावना रहेकाले उच्च सतर्कता अपनाउन जरुरी छ,” जोशीले भने।

साथै, विपद् जोखिम प्राधिकरणले आगामी तीन दिनसम्म लामो दूरीका र काठमाडौँ उपत्यका भित्रिने तथा बाहिरिने सवारीसाधनहरू सञ्चालन नगर्न सम्बद्ध सबै पक्षसँग आग्रह गरेको छ। भारी वर्षाका कारण पहिरो, डुबान र बाढीको जोखिम बढ्ने भएकाले अनुगमन गर्नसमेत सम्बन्धित जिल्ला प्रशासन कार्यालय र सुरक्षा निकायलाई आग्रह गरेको छ।

अविरल वर्षाका कारण देशका मुख्य राजमार्गमा पनि शनिबार बिहानैदेखि सवारी आवागमन प्रभावित भएको छ। काठमाडौँबाट बाहिरिने मुख्य नाका नागढुंगामा बिहानदेखि सवारीसाधन रोकिएका छन् भने चन्द्रागिरि क्षेत्रमा बाहिरिने गाडीहरू होल्ड गरिएका छन्।

अरनिको राजमार्गअन्तर्गत सिन्धुपाल्चोकको चारकिलोमा पहिरोका कारण पूर्ण रूपमा बन्द छ। कोशी र मेची राजमार्ग, तमोर करिडोरलगायत रसुवास्थित पासाङल्हामु सडकका तीन स्थानमा पनि अवरोध छ। 

वर्षाका कारण त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका आन्तरिकतर्फका उडानहरू स्थगन गरिएका छन्।प्रतिकूल मौसमले गर्दा काठमाडौँ, भरतपुर, जनकपुर, भद्रपुर, पोखरा, र तुम्लिङटार विमानस्थलमा उडान स्थगित भएका त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल कार्यालयले जनाएको छ।