जेनजी आन्दोलनका घाइते/शहीदलाई सहयोग रकम सरकारी कोषमै जम्मा गर्न अनुरोध

मन्त्रालयले संकलित रकमको दुरुपयोग रोक्न र पारदर्शी तथा जवाफदेही ढंगले परिचालन गर्न सहयोग रकम 'भौतिक पूर्वाधार पुनर्निर्माण कोष'को आधिकारिक खातामा मात्र जम्मा गर्न आग्रह गरेको छ।

काठमाडौँ– अर्थ मन्त्रालयले भदौ २३ र २४ गतेको जेनजी आन्दोलनपछि संकलित सहयोग रकम ‘भौतिक पूर्वाधार पुनर्निर्माण कोष’को आधिकारिक खातामा मात्र जम्मा गर्न अनुरोध गरेको छ।

मन्त्रालयले स्वदेश तथा विदेशमा संकलित सहयोग रकम विभिन्न गैर-सरकारी संघसंस्थाहरूमा अपारदर्शी ढंगले जम्मा भइरहेको जानकारी पाएको भन्दै गम्भीर ध्यानाकर्षण भएको जनाएको छ। मन्त्रालयले भनेको छ, “समानान्तर र अपारदर्शी ढंगले स्रोतको उपयोग हुन नदिन नेपाल सरकार कटिबद्ध छ।” 

जेनजी शहीद परिवारलाई राहत र घाइते व्यक्तिको उपचारका लागि संकलित रकम दुरुपयोग हुनबाट रोक्न र पारदर्शी तथा जवाफदेही ढंगले परिचालन गर्न आधिकारिक कोषमा मात्र रकम जम्मा गर्न अनुरोध गरिएको हो।

सरकारले राहत, पुनर्निर्माण र आर्थिक पुनरुत्थानका लागि यो कोष स्थापना गरी सहयोग आह्वान गरेको स्मरण गराएको छ। मन्त्रालयले यस कोषमा जम्मा हुने रकमबाट राहत र पुनर्निर्माणका साथै जेनजी शहीद तथा घाइते परिवारका प्रतिनिधिहरूको सहभागितामा समुचित उपयोग गरिने प्रतिबद्धता जनाएको छ।