देशभर भएका छुट्टाछुट्टै दुर्घटनामा १३ जनाको मृत्यु

देशका विभिन्न स्थानमा शनिबार र शुक्रबार भएका छुट्टाछुट्टै सवारी दुर्घटनामा परी १३ जनाको मृत्यु भएको छ।

काठमाडौँ– देशका विभिन्न स्थानमा शनिबार र शुक्रबार भएका छुट्टाछुट्टै सवारी दुर्घटनामा परी १३ जनाको मृत्यु भएको छ। एक ठूलो दुर्घटनामा ६ जना जनाको ज्यान गएको छ भने अन्य साना दुर्घटनामा सात जनाले ज्यान गुमाएका छन्।

पाँचथरको कुम्मायक गाउँपालिका-३, कार्तिकेस्थित तमोर करिडोर सडक खण्डमा ताप्लेजुङबाट धारानतर्फ जाँदै गरेको मे.१ ज ३०५५ नम्बरको बोलेरो गाडी शनिबार दिउँसो दुर्घटना भएको छ। अनियन्त्रित भई सडकदेखि करिब तीन सय मिटर तल खसेको गाडीमा सवार तीन पुरुष र तीन महिला गरी ६ जनाको घटनास्थलमै मृत्यु भएको छ। 

मृतकको र घाइतेको पहिचान खुलिसकेको छैन। दुर्घटनामा घाइते भएका पाँच जनालाई धरानतर्फ र एक जनालाई जिल्ला अस्पताल फिदिमतर्फ उपचारका लागि पठाइएको प्रहरीले जनाएको छ।

कपिलवस्तुको शिवराज नगरपालिका-१, बनकसबासस्थित सडकमा धनगढीबाट काठमाडौँतर्फ आउँदै गरेको ना.१ ख ५७०३ नम्बरको बस शनिबार बिहान अनियन्त्रित भई दुर्घटना हुँदा बसमा सवार डोटी दिपायल सिलगढी नगरपालिका-१ की १८ वर्षीया सरस्वती खड्काको मृत्यु भएको छ। गम्भीर घाइते भएकी उनको बुटवलस्थित लुम्बिनी सिटी अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो।

दुर्घटनामा २४ जना घाइते भएका छन्। घाइतेहरूको लुम्बिनी सिटी, चौराहा, र सन्जिवनी सामुदायिक अस्पतालमा उपचार भइरहेको छ। हाल फरार बस चालकको खोजी भइरहेको प्रहरीले जनाएको छ।

कैलालीको धनगढी उपमहानगरपालिका-३, बोराडाँडीस्थित सडकमा शनिबार दिउँसो ग.२ ख १९०७ नम्बरको बसको ठक्करबाट सोही उपमहानगरपालिका-४ बस्ने ६० वर्षीय गणेश शाहीको मृत्यु भएको छ। ठक्कर दिएर अनियन्त्रित भएको बस दुर्घटना हुँदा २० जना घाइते भएका छन्। घाइतेहरूको मायामेट्रोसहित विभिन्न अस्पतालमा उपचार भइरहेको छ।

त्यस्तै, काठमाडौँको टोखा नगरपालिका-३, शेर्पा पेट्रोल पम्पनजिक शुक्रबार राति बा.प्र-०२-०४९ प ०१९४ नम्बरको मोटरसाइकल दुर्घटना हुँदा चालक सुरेश डंगोल (३२) को मृत्यु भएको छ।

दोलखाको कालिन्चोक गाउँपालिका-९, सुन्द्रावतीस्थित सडकमा शुक्रबार दिउँसो बलेरोबाट खसेर सरोज दाहाल (३०) को मृत्यु भएको छ। गम्भीर घाइते उनको थप उपचारको क्रममा मध्यपुर थिमी अस्पतालमा मृत्यु भएको हो। बलेरो चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ।

मोरङको उर्लाबारी नगरपालिका-९, भोटेपुलस्थित सडकमा शुक्रबार राति स्कुटर दुर्घटना हुँदा चालक प्रेम राई (४२) को मृत्यु भएको छ। गम्भीर घाइते उनको अरनिको अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो।

सप्तरीको तिरहुत गाउँपालिका-१, धनपुरीस्थित सडकमा शुक्रबार साँझ हाईसको ठक्करबाट पैदलयात्री जगिया देवी सुढी पंजियार (७५) को मृत्यु भएको छ। हाइस चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ।

धनुषाको मिथिला नगरपालिका-६, ढल्केवरस्थित सडकमा शुक्रबार राति मोटरसाइकल दुर्घटना हुँदा चालक सन्तोष महतो (२३) को मृत्यु भएको छ। गम्भीर घाइते उनको प्रादेशिक अस्पताल जनकपुरमा उपचारको क्रममा मृत्यु भएको हो। यीमध्ये कतिपय घटनामा घाइतेहरूको उद्धार र उपचार भइरहेको तथा घटनाको विस्तृत विवरण आउन बाँकी रहेको प्रहरीले जनाएको छ।