काठमाडौँ उपत्यकाका नदी करिडोरमा साँझ ६ बजेदेखि सवारी आवागमन रोक्न आग्रह

राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले जिल्ला प्रशासन कार्यालयहरूलाई राजमार्गमा रोकिएका यात्रुहरूलाई सुरक्षित स्थानमा राख्दै खानपान र स्वास्थ्योपचारसहितको आवश्यक बन्दोबस्त गर्न पनि आग्रह गरेको छ।

काठमाडौँ उपत्यकाका नदी करिडोरमा साँझ ६ बजेदेखि सवारी आवागमन रोक्न आग्रह
किरणराज विष्ट/रासस
अविरल वर्षाका कारण काठमाडौँको पेप्सिकोला क्षेत्रको जलमग्न भएको सडक।

काठमाडौँ– राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले काठमाडौँ उपत्यकाका नदी खोला किनारका सडक (करिडोर सडक)मा सवारी आवागमनमा रोक लगाउन आग्रह गरेको छ। प्राधिकरणले शनिबार साँझ ६ बजेदेखि आइतबार बिहान ६ बजेसम्म करिडोर सडकमा सवारीसाधन नचलाउन सम्बद्ध सबै पक्षलाई अनुरोध गरेको हो।

प्राधिकरणले शनिबार जारी गरेको सूचनामा उपत्यकाका तीनवटै जिल्ला प्रशासन कार्यालयलाई करिडोर सडकमा सवारी आवागमनमा आवश्यकताअनुसार रोक लगाउन अनुरोध गरिएको छ। 

प्राधिकरणले काठमाडौँ उपत्यकासहित देशका विभिन्न भागमा भारीदेखि अति भारी वर्षा भइरहेको र शनिबार राति वर्षाको मात्रा अझै बढ्न गई नदी खोलामा पानीको तह थप बढ्ने सम्भावना रहेकाले सतर्क रहन भनेको छ।

“सम्भावित जोखिम कम गर्न काठमाडौँ उपत्यकाका नदी खोला किनारका सडक (करिडोर सडक) मा आज साँझ ६ः०० बजेदेखि भोलि बिहान ६ः०० बजेसम्म सवारी आवागमनमा आवश्यकताअनुसार रोक लगाउनु हुन निर्णयअनुसार अनुरोध छ,” प्राधिकरणले जारी गरेको सूचनामा उल्लेख छ।

त्यस्तै, प्राधिकरणले राजमार्गमा रोकिएका यात्रुहरूलाई सुरक्षित स्थानमा राख्दै खानपान र स्वास्थ्योपचारसहितको आवश्यक बन्दोबस्त गर्न पनि आग्रह गरेको छ।

प्राधिकरणले शनिबार सबै जिल्ला प्रशासन कार्यालयलाई परिपत्र गर्दै अलपत्र यात्रुहरूलाई सम्बन्धित स्थानीय तह, यातायात व्यवसायी एवं सरकारी तथा गैरसरकारी संघसंस्थाको समन्वयमा आवश्यक सहयोग गर्न निर्देशन दिएको हो।

सरकारले देशका विभिन्न स्थानमा भारीदेखि अति भारी वर्षा भइरहेको र त्यसबाट उत्पन्न हुनसक्ने बाढी, पहिरो र डुबानजन्य विपद्लाई दृष्टिगत गरी शनिबारदेखि असोज २० गतेसम्म (तीन दिन) सबै जिल्लाबाट चल्ने लामो दूरीका सवारीसाधनको आवतजावतमा रोक लगाएको छ।

प्राधिकरणका उपसचिव रामबहादुर केसीले रोक लगाइएको सूचना जारी हुनुअघि नै गन्तव्यतर्फ प्रस्थान गरेका केही यात्रुहरू राजमार्गमै रोकिएको जानकारी प्राप्त भएपछि उनीहरूको सुरक्षा सुनिश्चित गर्न यस्तो आग्रह गरिएको जानकारी दिए।