कस्तो छ मुख्य राजमार्ग अवस्था?

काठमाडौँ उपत्यका भित्रिने र बाहिरिने मुख्य नाकासहित १३ भन्दा बढी स्थानमा सडक पूर्ण वा आंशिक रूपमा अवरुद्ध छन् भने केही सडकमा विपद् जोखिमलाई मध्यनजर गर्दै सवारीसाधन 'होल्ड' गरिएका छन्।

काठमाडौँ– अविरल वर्षाका कारण शनिबार देशभरका मुख्य राजमार्ग तथा केही सडकखण्ड पहिरो र बाढीका कारण अवरुद्ध भएका छन्।

काठमाडौँ उपत्यका भित्रिने र बाहिरिने मुख्य नाकासहित १३ भन्दा बढी स्थानमा सडक पूर्ण वा आंशिक रूपमा अवरुद्ध छन् भने केही सडकमा विपद् जोखिमलाई मध्यनजर गर्दै सवारीसाधन 'होल्ड' गरिएका छन्।

नेपाल प्रहरीका अनुसार, सरकारले विपद् जोखिमलाई मध्यनजर गर्दै तीन दिनका लागि लामो दूरीका सवारीसाधन सञ्चालनमा रोक लगाएको छ।

शनिबार बिहान करिब ७ बजेदेखि नागढुंगा, गोदाम र टखेल नाका हुँदै उपत्यका भित्रिने तथा बाहिरिने सवारीसाधन अर्को आदेश नभएसम्मका लागि दुवैतर्फ 'होल्ड' गरिएका छन्।

पूर्वको अरनिको राजमार्ग सिन्धुपाल्चोकको भोटेकोशी गाउँपालिका–४, चारकिलोस्थित करिब १५ मिटर लम्बाइमा सडक भासिएपछि पूर्ण रूपमा अवरुद्ध भएको छ।

यस्तै, काभ्रेको रोशी गाउँपालिका–११, माम्तीखोला र डालावेशी क्षेत्रमा बिहान ११ बजे ढुङ्गा खसेका कारण बीपी राजमार्ग दुवैतर्फ अवरुद्ध भएको छ। जोखिमलाई मध्यनजर गर्दै धुलिखेलदेखि दोलालघाटसम्म बीपी र अरनिको राजमार्गमा अनिश्चित समयका लागि दुईतर्फी सवारीसाधन 'होल्ड' गरिएको छ।

ओखलढुङ्गाको मानेभञ्ज्याङ गाउँपालिकाको सिमानामा रहेको भँडारे खोलामा लेदोसहितको बाढी आउँदा लोकमार्गको करिब १० मिटर भागमा क्षति पुगी पूर्ण रूपमा बन्द भएको छ।

पृथ्वी लोकमार्गमा पनि धादिङको गजुरी गाउँपालिका–५, घाटबेसी र ६, जहरेखेतनजिक पहिरो खसेपछि पूर्ण रूपमा बन्द भएको छ। चितवनको नाम्चेखोला र तुइनखोला क्षेत्रमा पहिरो खसेपछि नारायणगढ–मुग्लिङ सडक भने एकतर्फी अवरुद्ध भएको छ। उक्त खण्डमा पनि सवारी आवागमन 'होल्ड' गरिएको छ।

मकवानपुरको इन्द्रसरोवर गाउँपालिका–४, महालक्ष्मी खोलास्थित पहिरो खसेपछि फखेल–हुमाने सडक पनि पूर्ण रूपमा अवरुद्ध छ। त्यस्तै, सिस्नेरी बजारस्थित डोढारे खोलामा पानीको बहाव बढेर सडकमा पस्दा कुलेखानी–सिस्नेरी सडक बन्द रहेको प्रहरीले जनाएको छ।

उत्तरतर्फ, गत असार २४ गते बाढीले रसुवागढीमा रहेको मितेरी पुलमा क्षति पुगेपछि नेपाल–चीन नाकाको आवतजावत बन्द छ। रसुवाको घट्टेखोला, बालुवाखानी र तातोपानी क्षेत्रमा पहिरो खसेर पासाङल्हामु सडकखण्ड पनि पूर्ण रूपमा अवरुद्ध भएको प्रहरी प्रशासनले जनाएको छ।

यसैगरी, संखुवासभाको भोटखोला–४, बरुणखोलास्थित बाढीले ह्युम पाइप बगाएपछि खाँदबारीदेखि थुमसुर जाने कोशी राजमार्ग पूर्ण रूपमा अवरुद्ध भएको र वर्षातभर सुचारु हुन नसक्ने जनाइएको छ।

प्रहरी प्रशासनले नागरिकलाई अत्यावश्यक कामबाहेक पहिरो सम्भावित स्थानमा यात्रा नगर्न, सुरक्षित र वैकल्पिक मार्गको प्रयोग गर्न र स्थानीय प्रशासनको निर्देशन पालना गर्न आग्रह गरेको छ।