तराईमा अति भारी वर्षा, उपत्यकाका नदीमा पनि खतराको तह पार

बारा, पर्सा र रौतहट जिल्लाका वर्षामापन केन्द्रहरूमा अति भारी वर्षा भएपछि १० वटा केन्द्रमा खतराको तह पार भएकाले साइरन बजाइएको विभागले जनाएको छ।

तराईमा अति भारी वर्षा, उपत्यकाका नदीमा पनि खतराको तह पार
हिमाल लम्साल/रासस
वीरगन्जको घण्टाघर क्षेत्रमा शनिबारदेखि परेको भारी वर्षाका कारण जनजीवन प्रभावित भएको छ।

काठमाडौँ– देशका विभिन्न स्थानमा मनसुनी वर्षा भइरहेको छ। विशेषगरी तराईका जिल्लामा अति भारी वर्षा भएको जल तथा मौसम विज्ञान विभागले जनाएको छ।

विभागका अनुसार पछिल्लो २४ घण्टामा रौतहटको महेशपुरमा सबैभन्दा बढी २८९ मिलिमिटर, रौतहटको गौरमा २५९ मिलिमिटर, वीरगन्जमा २४७ मिलिमिटर, पर्सामा २३१ मिलिमिटर र बारामा २२२ मिलिमिटर वर्षा दर्ता भएको छ। 

यसैगरी, मकवानपुरमा १३४ र काभ्रेपलाञ्चोकमा १२२ मिलिमिटर वर्षा भएको विभागका सूचना अधिकारी दिनकर कायस्थले जानकारी दिए। काठमाडौँ उपत्यकासहितका अन्य जिल्लाहरूमा पनि ५० मिलिमिटरभन्दा बढी वर्षा मापन भएको छ।

नदीहरूमा जलसतह बढ्दै, १० केन्द्रमा साइरन
बारा, पर्सा र रौतहट जिल्लाका वर्षामापन केन्द्रहरूमा अति भारी वर्षा भएपछि हालसम्म दश वटा केन्द्रमा खतराको तह पार भएकाले साइरन बजाइएको विभागले जनाएको छ। 

विभागको बाढी पूर्वानुमान महाशाखाका अनुसार काभ्रेको रोसी, काठमाडौँको मनोहरा र बागमती, तथा मकवानपुरको लालबकैया नदीमा जलसतह सतर्कता तहमाथि र बढ्दो क्रममा रहेको छ।

निरन्तरको वर्षाका कारण काठमाडौँ उपत्यका आसपासका नदीहरूको जलसतह ह्वात्तै बढेको छ। जल तथा मौसम विज्ञान विभाग, खोकनास्थित जलमापन स्टेसनका अनुसार बागमती नदीले खतराको तह पार गरिसकेको छ।

उच्च सतर्कता अपनाउन आग्रह
विभागका बाढीविद् विनोद पराजुलीले उपत्यका आसपासका नदीहरूमा जलसतह बढ्दो क्रममा रहेको र शनिबार राति अझै अति भारी वर्षाको सम्भावना रहेकाले उच्च सतर्कता अपनाउन आग्रह गरेका छन्।

“खोकनास्थित बागमती नदीमा ३.५ मिटर खतराको तह रहेकोमा हाल ४.२ मिटर जलसतह पुगेको छ। यो क्रम निरन्तर बढ्ने भएकाले तटीय क्षेत्रमा बसोबास गर्नेहरूले तत्काल सुरक्षित स्थानमा सर्न आवश्यक छ,” उनले भने।

बागमती र मधेश प्रदेश भएर बहने प्रायः सबै नदी–नालाहरू सतर्कता तहनजिक पुगेको र बढ्दो क्रममा रहेकाले सावधानी अपनाउन अनुरोध गरिएको छ।

शनिबार साँझ र राति जोखिम थप बढ्ने पूर्वानुमान गरिएकाले तटीय क्षेत्रमा बसोबास गर्नेहरूलाई अत्यन्तै उच्च सतर्कता अपनाउन विभागले फेरि एकपटक आग्रह गरेको छ। राससको सहयोगमा