प्रधानमन्त्रीको आग्रह

‘जहाँ हुनुहुन्छ, त्यही सुरक्षित बस्नुस्, अरूलाई पनि सुरक्षित रहन प्रेरित गर्नुस्’

प्रधानमन्त्री कार्कीले असोज १७ गते बेलुकीदेखि भइरहेको निरन्तर भारी वर्षापछि राज्यका सबै निकाय परिचालन गरिएको उल्लेख गर्दै सबैलाई सुरक्षा निर्देशन पालना गरी सुरक्षित रहन आग्रह गरिन्।

काठमाडौँ– अन्तरिम सरकारका प्रधानमन्त्री सुशीला कार्कीले देशव्यापी भारी वर्षाको जोखिमबाट नागरिकलाई बचाउन राज्यको सम्पूर्ण स्रोत परिचालन गरिने बताएकी छन्।

शनिबार बेलुका देशवासीका नाममा एक भिडियो सन्देश जारी गर्दै उनले असोज १७ गते बेलुकीदेखि निरन्तर देशभर भारी वर्षा भइरहेकाले राज्यका सबै निकायहरू प्रतिकार्यमा परिचालन गरिएको जानकारी दिइन्।

प्रधानमन्त्री कार्कीले जल तथा मौसम विज्ञान विभागका अनुसार अझै दुई दिन निरन्तर वर्षा हुने पूर्वानुमान रहेकाले उच्च सतर्कता अपनाउन आग्रह गरिन्। उनले बाढी, पहिरो र कटानको उच्च जोखिम बढ्दै गएको र उद्धारका लागि सरकार तयारी अवस्थामा रहेको बताइन्।

“हामी बाढीपहिरो र कटानको उच्च जोखिममा छौँ, धेरै स्थानमा पहिरोको जोखिम छ,” उनले भनिन्, “सरकारी निकाय उद्धार र राहतका लागि उच्च मनोबलका साथ चौबीसै घण्टा लागिपरेका छन्।”

उनले नागरिकको सुरक्षालाई प्राथमिकतामा राखेर आइतबार र सोमबार देशभर सार्वजनिक बिदा दिइएको उल्लेख गरिन्।

प्रधानमन्त्री कार्कीले अत्यावश्यक नभएसम्म आवतजावत नगर्न र सवारी नचलाउन देशवासीलाई अपिल गरिन्। “राजमार्ग र अन्य पूर्वाधारको सक्रियतापूर्वक निगरानी भइरहेको छ। जहाँ हुनुहुन्छ, त्यही सुरक्षित बस्नुस्, अरूलाई पनि सुरक्षित रहन प्रेरित गर्नुस्,” उनले भनिन्, “अत्यावश्यक नभएसम्म यात्रा नगर्नुहोस्।”

उनले जोखिमको पूर्वआकलन गरेर सुरक्षालाई उच्च प्राथमिकता दिएर मात्र काम गर्नसमेत आग्रह गरिन्। उनले प्रहरी र अन्य सरकारी निकायले जारी गरेका सुरक्षा सूचना तथा निर्देशनहरूलाई पूर्ण रूपमा पालना गर्न पनि सबैलाई अनुरोध गरिन्।

उनले आवश्यक सहयोग लिनका लागि अप्ठ्यारो नमान्न आग्रह गर्दै भनिन्, “तपाईं यसमा एक्लो हुनुहुन्न। राज्यका सम्पूर्ण स्रोतहरू आज तपाईंसँग छन्। हामी यो जोखिमलाई मिलेर पार गर्नेछौँ।”